उदयपुर । सिद्धिचरण लोक मार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरे स्थित चनौटमा ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । आज सोमबार बिहान २ः३० बजे दुर्घटना हुँदा ट्रकमा सवार चालकसहित चारजनाको मृत्यु भएको हो ।
मकवानपुरको हेटौँडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना.८ख८२९७ नम्बरको लोबेड ट्रक बिहान २ः३० बजे भदौरे चनौट खोला नजिक दुर्घटना जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान तामाङ, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कच्ची सडकमा चालक निदाएका कारण ट्रक अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको छ ।
प्रहरीले स्थानीयवासीको सहयोगमा सब बाहिर निकाल्ने प्रयास जारी राखेको छ । शव यत्रतत्र छरिएकाले सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले दुर्घटनाका बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ ।
























