काठमाडौं । बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिकाको लार्जुङ वा नौराकोटमा दुर्घटना भएको जानकारी प्राप्त भएको छ ।
वायुसेवा सञ्चालक संघले हराइरहेको तारा एयरको जहाज मुस्ताङको लार्जुङ क्षेत्रमा भेटिएको तर दुर्घटनास्थलमा जान नसकिएको जानकारी दिएकाे छ ।
संघका प्रवक्ता योगराज शर्मा कँडेलले तारा एयरको ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिइसकेको तर दुर्घटनास्थलमा जान नसकिएको जनाएका छन् ।
स्थानीयले पनि विमान थासाङको नौराकोटमा दुर्घटनामा परेको हुनसक्ने बताएका छन् । दुर्घटनापछि आएको आवाजलाई मध्यनजर गर्दै उनीहरुले यसअघि मुस्ताङमा हिमपहिरो गएको क्षेत्र नजिकै नौराकोटमा विमान दुर्घटनामा परेको अनुमान गरिएको बताए । लार्जुङ र नौराकोट नजिकैका क्षेत्रहरु हुन् ।
त्यहाँका एकजना शिक्षकका अनुसार लार्जुङमा विद्यालयमा प्रार्थना गरिरहेको बेला ठूलो आवाज आएको थियो ।
‘हामी एसेम्ब्ली गर्दै थियौं । स्कुलमाथितिर जहाजको आवाज आइरहेको थियो । केही साथीहरूले डोल्पा हिँड्न लागेको भनेर ठट्टा गर्नुभयो । एकजनाले यो अब हराउने भयाे भनेर पनि चर्चा गर्नुभयो,’ उनले भने, केहीबेरमा आवाज आयो । जहाज सम्पर्कविहीन भएको समाचार पनि सुन्यौं ।’
उनका अनुसार अहिले त्यस क्षेत्रमा हेलिकोप्टर घुमिरहेको छ । ‘हेलिकोप्टर घुमिरहेको छ । लार्जुङको खोंच हामी यहाँबाट जान सजिलो छैन । कहाँनिर खस्यो भन्ने थाहा छैन । यहीँनिर खसेको भन्ने आशंका छ,’ उनले भने, ‘म बसेको ठाउँबाट आर्मीहरु धेरै गइरहेका छन् ।’ यो थासाङ गाउँपालिकाको वडा नम्बर २ कोवाङ नजिक पर्छ ।
तारा एयरको आज बिहान ९ः ५५ मा पोखराबाट उडेको उक्त जहाज उडेको १२ मिनेटमै सम्पर्कविहीन भएको थियो । यो जहाजमा चालक दलका ३ सदस्यसहित १९ यात्रु छन् ।




















