मुगु । जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाका नवनिर्वाचित मेयर विष्णुकुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुरज्यूको भाकेर शुक्रबार पदभार ग्रहण गरेका छन् ।
नेपाली कांग्रेसबाट विजयी भएका नगर प्रमुख भामले मष्टो र अन्य देवताको घण्ट छोएर भ्रष्टचार नगर्ने, कमिसन नखाने र सेवाग्राहीलाई दुःख कष्ट नदिने भनेर घण्ट छोएर कसम खाएका हुन् ।
पदभार ग्रहण कार्यक्रममा नगर प्रमुख भामले आफ्नो यो ५ वर्षे कार्यकालमा सेवाग्राहीलाई कुनै दुःख कष्ट नहोस् भन्दै देउताका नामका घण्ट छोएका थिए ।
उनले जनताको नाममा आएको रकमप्रति नजर नलगाउने स्थानीयलाई सेवाप्रवाह छिटोछरितो गर्ने बाचा कसम पनि खाएका थिए । प्रसिद्ध देवताका २ वटा घण्ट समातेर पदभार सम्हाल्दैगर्दा नगरप्रमुख भाम भावुक पनि देखिएका थिए ।
पारिश्रमिक नलिने
जनप्रतिनिधिले पाउँदै आएको सेवा सुविधा उनले नलिने पनि घोषणा गरेका छन् । उनले २०७४ सालको स्थानीय चुनावमा वडा अध्यक्ष पदमा हुँदा कुनै पनि सेवा सुविधा लिएका थिएनन् ।
नगर प्रमुखले पाउने पाँच वर्षको पारिश्रमिक बजेटबाट १ देखि १४ वडाका बिरामीका लागि एम्बुलेन्स उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् ।
नगरका सम्पूर्ण बस्तीमा विद्युत् सेवा विस्तार गर्ने गमगढी बजारलाई स्वच्छ सफा राख्ने तथा नगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्था मिलाउने भामले बाचा गरेका छन् ।