काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकामा एक लाख ९१ हजार एक सय ८६ मत खसेको थियो । सो मध्ये मंगलबार दिउँसो १ बजेर ३० बजेसम्ममा २७ हजार ७३४ मतपत्रको गणना सकिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले ११ हजार १३ मत प्राप्त गरेका छन् ।
उनलाई ५ हजार ९५६ मतसहित नेकपा एमालेका उम्मेदवार केशव स्थापित पछ्याइरहेका छन् भने तेस्रो स्थानमा रहेकी गठवन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको मत ५ हजार २११ रहेको छ।
काठमाडौँ महानगरमा अहिले ३, ४, ५, ६, ३०, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ । वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसकेको छ। काठमाडौँ–१ मा एमालेका भारतलाल श्रेष्ठ र २ मा एमालेकै राजेन्द्रकुमार श्रेष्ठ वडाध्यक्षमा विजयी भइसकेका छन् । विजयी वडाध्यक्ष उम्मेदवारको भन्दा एमालेका मेयरका उम्मेदवार स्थापितको मत थोरै आएको छ ।


















