काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय चुनावको सरगर्मी देशैभरी चलेको छ । उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त छन् । जनता पनि पहिला जस्तो नमस्कार फर्काउने मात्र होइन, उम्मेदवारहरुलाई प्रश्न पनि तेस्र्याउन थालेका छन् । जनताले कुन पार्टीले मुलुकको हित र जनताको पक्षमा काम गर्छ भन्ने बुझेका छन् । कुन उम्मेदवार विकासवादी हो, कसले काम गर्न सक्छ, कसले जनतालाई निर्वाचन पछि पनि जनार्दनका रुपमा हेर्छ भन्ने अहिलेका मतदाताहरु राम्ररी छुट्याउन सक्छन् । त्यसमा पनि काठमाडौंका शिक्षित मतदाताले नछुट्याउने कुरै भएन ।
काठमाडौं महानगरपालिकाको वडा नं २९ का मतदातामाझ असल, सक्षम, समाजसेवी, धार्मिक व्यक्तित्वका रुपमा चिरपरिचित शिवराम राजवंशी श्रेष्ठ नेकपा एमालेका तर्फबाट वडाअध्यक्षका उम्मेदवार भएका छन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र रुपमा वडाध्यक्षका उम्मेदवार शिवराम राजवंशी श्रेष्ठ ५४ मत अन्तरले मात्र हारेका थिए भने उनको ३१६ मत बदर भएको थियो । वडाध्यक्षमा हारे पनि समाजसेवा र वडाको विकास निर्माणलगायत सामाजिक कार्यमा निरन्तर खटिरहेका उनै श्रेष्ठलाई यस पटक नेकपा एमालेले वडाध्यक्षको उम्मेदवार बनाएको छ । स्वतन्त्र रुपमा उठ्दा त थोरै मतले हारेका श्रेष्ठलाई यस पटक एमालेले उम्मेदवार बनाएपछि उनको जित सुनिश्चित देखिएको घरदैलोका क्रममा मतदाताले देखाएको सद्भाव र उत्साहबाट प्रष्ट भएको स्थानीय एमाले नेता, कार्यकर्ता तथा वुद्धिजीवीले बताएका छन् ।
घट्टेकुलो सेवा समाजको अध्यक्षदेखि विभिन्न संघसंस्थाको अध्यक्ष, संरक्षक भएर काम गरेका वडाअध्यक्ष उम्मेदवार श्रेष्ठले आफ्नो टिममा अर्थात सदस्यहरुमा अम्बिका पाठक उप्रेती, रोमी पुजारी, निदेश महर्जन र भरतराज मैनाली जस्ता स्थानीय जनतामा परिचित, समाजसेवी भावनाका व्यक्तिहरुलाई उम्मेदवार बनाएका छन् ।
घरदैलोका क्रममा स्थानीयहरुले वडाध्यक्ष उम्मेदवार राजवंशीलाई अग्रिम वधाई दिँदै वडाको फोहोर व्यवस्थापन, गल्लीमा गरिने पार्किङको समस्या समाधान, मठमन्दिरको पुनर्निर्माण, सडकको सुधार, बालबालिकाका लागि खेल्ने ठाउँ, बुढावुढीका टोलाउने, गफिने ठाउँ, युवाहरुका लागि खेलकुद ग्राउण्ड, पुस्तकालय निर्माण, वडावासीको सुरक्षाका लागि सीसी क्यामेरा, ठाउँठाउँमा प्रहरी विटलगायतको व्यवस्थापन कसरी गर्ने भन्नेतिर लाग्न आग्रह गरेका छन् ।
मतदाताहरुको गुनासो, आग्रह र शुभेच्छा सुनेपछि वडाध्यक्ष उम्मेदवार राजवंशीले वडाहरुले भोग्नुपरेका समस्या आफूले पनि भोगिरहेकाले ति सवै समस्या समाधान गर्ने योजना बनाइसकेको बताउँदै आफूले तयार गरेको ३७ वुँदे प्रतिवद्धता पत्रमा ती सवै समस्याको सम्वोधन गरिएको र आफूले जितेपछि समाधान गर्ने विश्वास दिलाएका छन् । उनी एक पटक वडाध्यक्ष भएर पाँच वर्षे कार्यकालमा वडाको विकास र जनताको सेवालाई नमुना वडा बनाएर छोड्ने बताएका छन् ।
कामनपा २९ वडावासीको आशा र भरोसाका केन्द्र, विश्वासिला व्यक्तित्व, समाजसेवी भावना भएका राजवंशीलाई उम्मेदवारका रुपमा पाउँदा स्थानीयवासी निकै हौसिएको पाइएको छ । कुनै पदमा नहुँदा पनि स्थानीयवासीसँग विकास निर्माण होस् वा धार्मिक कार्यक्रममा, आपत विपतमा होस् या खुशीयालीमा सँगसँगै हुने राजवंशीले आफूले जितेमा वडावासीले गुनासो गर्न नपर्ने गरी काम गर्ने प्रतिवद्धता दोहोर्याएका छन् ।
उनले मतदाताहरुको जिज्ञासालाई सम्वोधन गर्दै बैज्ञानिक ढंगले कम्तिमा वडाको फोहोर व्यवस्थापन गर्ने, सवारी पार्किंगलाई व्यवस्थापन गर्ने, सडकहरुको स्तरोन्नति गर्ने, वडा कार्यालय अर्को वडामा रहेकाले त्यसलाई आफ्नै वडामा व्यवस्थित र सुविधा सहितको कार्यालय भवन ६ महिनाभित्रैमा शिलान्यास गर्नेलगायतका आफ्नो घोषणापत्रमा उल्लेख भएका सम्पूर्ण प्रतिवद्धता पूरा गर्ने वाचा गरेका छन् । आफूले गर्न नसक्ने कुनै पनि काम घोषणा नगरेको भन्दै उनले जनताका दैनिकीसँग गाँसिएका कुरामा आफ्नो ध्यान गएको र वडाबाट जनतालाई दिनुपर्ने सेवालाई सरल, सुलभ, छिटो, छरितो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
२०७४ सालको स्थानिय तहको निर्वाचनमा २८ मत मात्र कमि भएर नेपाली कांग्रेसका उमेदवार कुश ढकालसँग पराजित हुन पुगेका राजवंशी यस पटक उनै ढकालसँगै प्रतिस्पर्धामा छन् । त्यसेबला स्वतन्त्र रुपमा उम्मेदवार बनेका राजवंशी अत्यन्त थोरै मतले हारे पनि यस पटक एमालेका तर्फबाट उम्मेदवार बनेकाले उनी अत्याधिक मतअन्तरले जित्नमा एमालेका नेता, कार्यकर्ता मात्र होइन, स्थानीय पनि ढुक्क देखिएका छन् ।
वडालाई समृद्ध बनाउने यस्ता छन् वडाअध्यक्ष उम्मेदवार शिवरामका योजना –
नेकपा एमाले कामपा वडा नं. २९ का वडा अध्यक्षका उम्मेदवार शिवराम राजबंशी श्रेष्ठ तथा वडा सदस्यहरु अम्बिका पाठक उप्रेती, रोमी पुजारी, दिनेश महर्जन र भरतराज मैनाली यस वडामा रहेर निरन्तर विकास निर्माण, सामाजिक कार्य र सहरको सुन्दरताका लागि निरन्तर काम गर्दै आएका व्यक्तिहरु भएको विदितै छ । यहाँहरुको अमूल्य मतले विजय प्राप्त गरेको खण्डमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारासहित समृद्ध वडा बनाउनका लागि निम्न कार्यहरु गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
१. कामनपा वडा नं. २९ को कार्यालय सबैभन्दा पहिले र जनताको लागि सुविधाजनक बनाउँने छौं ।
२. वडाको आफ्नै भवन बनाउन आजसम्म पलह नभएकोमा हामी निर्वाचित भएपश्चात एक सुविधा सम्पन्न वडा कार्यालय भवन बनाई सर्वसुलभ वडा स्तरीय सेवा वडावासीहरमा पुर्याउने छौ ।
३. ज्येष्ठ नागरिक, असहाय, शारीरिक अपांगता, दृष्टिविहीनहरुको सुक्ष्म रुपले पहिचान गरी वडास्तरीय स्वास्थ्य केन्द्रको स्थापना र सञ्चचालन गरिनेछ ।
४. महिला दिदी बहिनीहरुहरुमा देखिने स्तन तथा पाठेघर क्यान्सर रोगको समयमै पहिचान गर्नका लागि मासिक रुपले विशेष स्वास्थ्य परीक्षणको व्यवस्था गरिनेछ ।
५. कुपोषणबाट ग्रसित बालबालिकाहरूको पहिचान गरि यथासम्भव सहयोगको व्यवस्था गरिनेछ । ६) शारीरिक रूपले हिँडडुल गर्न नसक्ने वडाबासीलाई ह्विल चियरको व्यवस्था गरिनेछ ।
७) दृष्टिविहीनहरूलाई आवश्यक पर्ने स्टिक उपलब्ध गराइनेछ ।
८) सार्वजनिक विद्यालयमा अध्ययन गर्ने बालिकाहरूका लागि आवश्यक पर्ने स्यानीटरी प्याडको व्यवस्था गरिनेछ ।
९) वडाका विभिन्न स्थानहरूको पहिचान गरी आवश्यकताअनुसार स्थायी र सार्वजनिक घुम्ती शौचालयको यथाशीघ्र व्यवस्था गरिनेछ ।
१०) वडाको मातहतमा एक एम्बुलेन्स र शववाहनको व्यवस्था तत्काल सुरु गरिनेछ ।
११) केन्द्र तथा प्रदेश सरकारबाट वडामा सञ्चालन हुने सबै प्रकारका स्वास्थ्यसँग सम्बिन्धत सूचना तथा सेवा प्रवाह र प्रविधि समयमै वडाबासी माझ पुयाउन उचित व्यवस्था गरिनेछ ।
१२) वडाभित्र सञ्चालनमा रहेका सबै स्वास्थ्य संस्था, औषधी पसलहरूको नियमित अनुगमन गरिनेछ ।
१३) वडास्तरमा उत्पादन हुने फोहरको कारणले जनस्वास्थ्यमा पर्ने असर सम्पूर्ण रूपले पहिचान गरी यसको व्यवस्थापन महानगरको समन्वयमा व्यवस्थापन गरिनेछ ।
१४) हाल उठाइँदै आएको फोहोर प्रतिमहिना प्रतिघर २०७४ सालमा निर्वाचित वडा पदाधिकारीहरुको निर्णयबाट रु. ५०० पुर्याइएको छ, त्यसलाई घटाई प्रतिमहिना प्रतिघर आधा रकम कायम गरिनेछ । पाँच वर्षभित्रमा शून्यमा झारिनेछ ।
१५) यस वडामा रहेका सम्पूर्ण सार्वजनिक विद्यालय तथा कलेजहरूमा नियमित रूपले अनुगमन गरी गुणस्तरीय शिक्षाका लागि एक अनुगमन तथा परिचालन समिति बनाई सो समितिको रायसल्लाह बमोजिम विद्यालय सुधारका कार्यक्रम सञ्चालन गरिनेछ ।
१६) यस वडामा रहेका निजी विद्यालयहरूमा स्थानीय वडाबासीहरूका लागि व्यवस्था गरिएको कोटामा स्थानीय वडाबासीका लागि पारदर्शी रूपले सिफारिस गरिनेछ ।
१७) सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न तिनीहरूको भौतिक अवस्थाको सुधार गरिनेछ । (भवन, कक्षाकोठाहरू, फर्निचर तथा अन्य आवश्यक वस्तुहरू)
१८) शिक्षाक्षेत्रमा वडाबासीहरूका लागि आवश्यक पर्ने प्रशासनिक सेवा तुरुन्त संचालन गरिनेछ । १९) बेरोजगार वडाबासीहरूलाई आवश्यक पर्ने आयआर्जजका सम्भावनाहरू पहिचान गरी तालिमको व्यवस्था गरिनेछ ।
२०) सामाजिक सुरक्षा अन्तर्गत प्राप्त हुने सुविधा, भत्ता सबै वर्ग र क्षेत्रमा आवश्यक्ताको पहिचान गरी सर्वसुलभ वितरणको व्यवस्था गरिनेछ ।
२१) महिलामाथिको हिंसालाई दुरुत्साहित गर्ने हाम्रो प्रथम प्राथमिकता हुनेछ ।
२२) चोरी, यौनजन्य हिंसा तथा अन्य सार्वजनिक स्थानमा हुने अपराधलाई न्यूनीकरण गर्न त्यस्ता स्थानहरूको पहिचान गरी क्रमिक रूपमा सीसीटीभीको व्यवस्था गरिनेछ ।
२३) हरेक सडक, गल्लीमा बत्तीको व्यवस्था गरिनेछ ।
२४) बर्षातको समयमा ढलजाम हुने समस्यालाई समयमै सफाइ गरी दुरुस्त राखिनेछ ।
२५) धारा हुने तर पानी नहुने समस्यालाई खानेपानी कार्यालयसँग समन्वय गरी एक हप्तामा समाधान गरिनेछ ।
२६) वडाका विभिन्न स्थानहरूमा क्रमिक रूपमा फ्रि वाईफाईको व्यवस्था गरिनेछ ।
२७) सौर्य ऊर्जाको अधिकतम प्रयोग बढाउन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग समन्वय गरी अतिविपन्न परिवारलाई अनुदानमा सोलार प्यानल उपलब्ध गराइनेछ ।
२८) सार्वजनिक जग्गाको अविलम्ब पहिचान गरी बालउद्यान, पार्क, खेलमैदान तथा बहुउद्देश्यीय भवन निर्माण गरिनेछ ।
२९) गल्लीहरूमा वारुणयन्त्र जान सम्भव नहुने भएकाले अन्य विकल्पको पहिचान गरी कार्यान्वयन गरिनेछ ।
३०) वातावरण स्वच्छ तथा हरियाली कायम राख्न बृहत् वृक्षरोपण गरिनेछ ।
३१) फुर्सदका समयलाई उपयोग गर्न कौसिखेती (तरकारी, फूलबारी) कार्यक्रम सञ्चालन गरिनेछ ।
३२) म्याद गुज्रिएका खाद्य पदार्थ बिक्री वितरणमा कडाइ र नियन्त्रण गर्न एक समिति बनाई बजार अनुगमन गरिनेछ ।
३३) सार्वजनिक स्थानमा मद्यपान, धुम्रपान, सुर्ती तथा गुड्का सेवनलाई नियमन गरी क्रमिक रूपमा निषेध गरिनेछ ।
३४) वडाभित्र रहेका सम्पूर्ण सडकहरूलाई स्थानीय बासिन्दाको चाहना बमोजिम कालोपत्रे, सडक ढलान र अन्य उपायहरूको अध्ययन गरी अविलम्ब दुरुस्त गरिनेछ ।
३५) वडाभित्र रहेका सबै मठ मन्दिर, गुम्बा, चर्च, मस्जिद तथा सार्वजनिक सांस्कृतिक सम्पदाहरूलाई सदावहार दुरुस्त गरिनेछ ।
३६) सवारी पार्किङको समस्यालाई समाधान गर्न विज्ञ समूहको सल्लाहबमोजिम महानगरबाट सहयोग लिई आवश्यक व्यवस्था गरिनेछ ।
३७) वडा कार्यालयका दिनानुदिन हुने कार्यहरू सहज रूपले सञ्चालन गर्न वडा प्रशासनलाई चुस्त र दुरुस्त बनाइनेछ ।