लमजुङ । नेकपा (एमाले) ले ‘ग’ वर्गका अपाङ्गता भएका र ६० वर्षभन्दा माथिका एकल पुरुषलाई पनि भत्ता दिने प्रतिबद्धता जनाएकाे छ । बेसीशहर नगर कमिटीले स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा यस्तो उल्लेख छ ।
संघीय सरकारले एकल महिलालाई र अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गलाई भत्ता दिने गरे पनि एमाले नगर कमिटीले सार्वजनिक गरेको प्रतिबद्धतामा बेसीशहरमा ‘ग’ वर्गका अपाङ्गता भएका र ६० वर्षभन्दा माथिका एकल पुरुषलाई पनि भत्ता दिने दाबी गरेकाे हाे ।
‘नेकपा (एमाले) को रहर, सुखी र समृद्ध बेसीशहर’ भन्ने नाराका साथ सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा विपन्नलाई उत्पादनका साधन दिलाउने सामाजिक सुरक्षाको व्यवस्था गरिने, निर्माण क्षेत्रमा अधिकतम रोजगारी सिर्जना हुनेगरी श्रमप्रधान प्रविधिको प्रयोग गरिने, श्रम गर्न सक्ने र चाहनेलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध गरिने, स्वरोजगारका लागि लघुउद्यम तथा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रम तय गरिने, वैदेशिक रोजगारीमा जानेका लागि न्यूनतम सीपमूलक तालिम दिने र विदेशबाट फर्केका व्यक्तिको ज्ञान, सीप र पुँजीको सदुपयोग गर्ने सम्बन्धी कार्यक्रम तय गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
कानुन, तथा योजना तर्जुमा एवं कार्यान्वयन बेसीशहर नगरपालिका सञ्चालनका लागि आवश्यक पर्ने ऐन तथा कानुन, नियमावली, निर्देशिका, कार्यविधि निर्माण तथा संशोधन गरी स्थानीय शासन सञ्चालन ऐनको आधारमा योजना तर्जुमा र कार्यान्वयन गरिने उल्लेख छ ।
नगरपालिका नगरस्तरीय डिजिटल प्रोफाइल तयार गरी तथ्यांककलाई अद्यावधिक गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ । शिक्षा क्षेत्रमा नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमध्येबाट नमुना विद्यालय छनाेट गरी प्रोत्साहन गरिने, शिक्षकलाई बालमैत्री तालिमको व्यवस्था गरी शिक्षण सिकाई प्रक्रियामा गुणस्तरिय कायम गरिने भनिएकाे छ ।
आधारभुत स्वास्थ्य सेवामा नागरिकको मौलिक हक सुनिश्चित गरिने, स्वास्थ्यका लागि हानिकारक खाद्यपदार्थको नियमन, सबै खाद्यवस्तुको मापदण्ड निर्धारण र गुणस्तर अनुगमन गरिने, समय समयमा स्वास्थ्य सेवा शिविर संचालन, प्रजनन स्वास्थ्य र पोषण सेवासम्बन्धी कार्यहरु सञ्चालन गरिने लगायतका अन्य प्रतिवद्धता उल्लेख गरिएको छ ।
फोहोरमैला व्यवस्थापन र सरसफाइतर्फ फोहोरमैला व्यवस्थापनको गुरुयोजना तर्जुमा गरी वैज्ञानिक तथा दीर्घकालीन रुपको ल्यान्डफिल साइटको व्यवस्थापन गरिने, फोहोरमैला व्यवस्थापन र सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । विद्युतीकरण र वैकल्पिक उर्जा, जलस्राेत तथा सिंचाइ पूर्वाधार, सडक तथा यातायात, आवास व्यवस्था, कृषि क्षेत्रतर्फ कृषिमा आधुनिकिरण र प्रविधिको उपयोग गरी स्मार्ट विधिमा विकास गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।