भैरहवा । परीक्षण उडानमा सफलता पाएको भैरहवामा निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबार साँझ ५ बजेर ५० मिनेटमा सफलतापूर्वक अन्तर्राष्ट्रियस्तरको विमानबाट परीक्षण उडान गरेको छ ।
नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको राष्ट्रिय ध्वाजावाहक विमान एयर बस ३३० बाट २७४ जना यात्रु (पूर्ण क्षमता) बोकेर सफल उडान गरेको हो ।
विमानस्थलमा बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य राम फुँयाललगायतको उपस्थितिमा परीक्षण गरिएको हो ।
निर्वाचन आचारसंहिता लागेको भन्दै मन्त्री आलेले मन्तव्य नदिए पनि प्राधिकरणका महानिर्देशक अधिकारीले नेपालको इतिहासमा पहिलोपटक काठमाडौंबाहिर वाइडवडी विमानले उडान र अवतरण गरेको बताए । ‘यो परीक्षण गर्नका लागि डेमोन्स्ट्रेशन हो ७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा पाएका छौं’, उनले भने । ६४ वर्षअघिबाट संचालनमा आएको भैरहवा विमानस्थल बुद्धपूर्णिमाको दिन व्यावसायिक उडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन हुन्छ ।
विमानस्थलको सञ्चालनसँगै बढ्दो हवाइ यात्रु चाप घट्ने र काठमाडौंको विकल्प बनेको विमानस्थलका महानिर्देशक अधिकारीले बताए । काठमाडौंमा अवतरण गर्न नसक्ने ठूला विमानसमेत भैरहवामा अवतरण हुन सक्ने बताउँदै २–३ वर्ष कोभिडका कारण निर्माण सम्पन्न हुन ढिला भएको बताए ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा अत्याधुनिक उपकरण भैरहवामा जडित छ, अबको ५ वर्षमा विमानस्थल फूलफेजमा सञ्चालनमा आउने छ’ उनले भने ।
आन्तरिक उडानमा ढिलाई हुँदा बिहीबारबाट आन्तरिक भैरहवासहित ७ वटा विमानस्थल १८ घण्टा चल्ने र जेठ २ गतेबाट काठमाडौंसहित भैरहवा अन्तर्राष्टिय विमानस्थल २४ घण्टा संचालनमा आउने निर्णय भएको महानिर्देशक अधिकारीले बताए ।
पर्यटन सचिव महेश्वर न्यौपानेले सबैको सहयोगले ठूलो विमान उडान अवतरण गर्न सफल भएको बताए ।
परीक्षण उडानको क्रममा जहाज केही बेर रनवेमै अड्किएको थियो । जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । रनवेमा अड्किएको जहाज केही समयपछि एप्रोनतर्फ ल्याइएको थियो ।