काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का कूटनीतिक मर्यादा विपरीत एक विद्यालयको शिलान्यास कार्यक्रममा सहभागी भएका छन् ।
भारतको अनुदान सहयोगमा उदयपुरको त्रियुगा नगरपालिका बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यासमा उनी सहभागी भएका हुन् ।
उक्त भवनको शिलान्यास आज एक कार्यक्रमबीच परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय दूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले गरेका थिए ।
‘परराष्ट्रमन्त्री जस्तो व्यक्ति आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर शिलान्यास कार्यक्रममा जान हुँदैनथ्यो । यस्तो कार्यक्रममा त शिक्षामन्त्रीलाई लग्नुपर्ने थियो । गईहाले पनि अर्को देशको कार्यवाहक राजदूतसँग शिलान्यास गर्नु हुँदैनथ्यो । कूटनीतिक मर्यादाअनुसार उहाँ त्यस्तो कार्यक्रममा सहभागी हुनुहुँदैनथ्यो,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
सामुदायिक विकास परियोजनाका रुपमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत ३ करोड ११ लाख अनुदान सहयोगमा विद्यालय भवन निर्माण कार्य अघि बढाइएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
बालमन्दिर माध्यमिक विद्यालय उदयपुर जिल्लाकै एक पुरानो विद्यालय हो । निर्माण कार्य सम्पन्न भइसकेपछि यो विद्यालयलाई नयाँ परिसरमा सारिनेछ । विद्यालयमा हाल एक हाजर एक सय विद्यार्थी अध्ययनरत छन् जसमा करिब ७० प्रतिशत छात्राहरु रहेका छन् ।
सन् २००३ यता भारतले ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । तीमध्ये ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ ।
‘भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास सहकार्य रहेको छ जसले दुई मुलुकका जनताबीचको प्रगाढ सम्बन्धलाई प्रतिबिम्बित गरेको छ । आज आयोजित यस कार्यक्रमले शिक्षा जस्ता प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माण गर्न नेपाल सरकारले चालेको प्रयासलाई सफल बनाउन भारत सरकार सदैव प्रतिबद्ध रहेको कुरालाई पुष्टि गरेको छ,’ भारतीय दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।























