भैरहवा । सुनचाँदी पसल लुट्न आएकाे समूहले पसल संचालकमाथि आक्रमण गरी घाइते बनाएकाे छ ।
रुपन्देहीको सैनामैना-१, रानवगियामा रहेकाे बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा हताैडा प्रहार गरी पसलका संचालकलाई घाइते बनाएका हुन् ।
बिहीबार साँझ करिब ६ः३० बजेको समयमा पसल लुट्ने याेजना बनाएर आएकाे २ जनाकाे समूहले पसल संचालक माथि नै आक्रमण गरेका थिए । संचालक अन्दाजी वर्ष ३५का गणेश हमाल घाइते भएका छन् । उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।
लु ४८ प १२५६ नम्बर पेलेट भएको मोटरसाइलकामा आएका अज्ञात समूहले सो पसलबाट गरगहना लुटने दाउमा रहेको खुलेको छ ।
प्रहरीले नियन्त्रणमा लिएको पुरुषको ब्यागबाट एक थान नक्कली पेस्तोल,धारिलो चक्कु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
उपरिक्षक रेग्मीका अनुसार पक्राउ पर्ने कपिलबस्तु जिल्ला कृष्णनगर वडा न.३ बस्ने वर्ष ३८का अब्दुल्ला शाह रहेका छन् । ती लुटेराहरुले सुनियोजित रुपमा सुनचाँदी लुट्ने योजना रहेको बताउदै एसपि रेग्मीले फरार अर्का एक पुरुषको खोजीकार्य भइरहेको जानकारी दिए ।