काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महनिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै तीन जना डीआईजीहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले आज रिट दर्ता गरेका हुन् ।
निवेदकहरुले बढुवासम्बन्धी निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश मागेका छन् ।
बढुवा समितिले गरेको सिफारिसलाई लोक सेवा आयोगका प्रमुख माधव रेग्मी अध्यक्ष रहने उजुरी सुन्ने समितिले बुधबार साँझ सदर गरेपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रप्रताप धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
वरीयता मिचेर बढुवा गरिएको भन्दै डीआईजीहरु अर्याल र कार्कीद्वयले उजुरी सुन्ने समितिमा उजुरी गरेका थिए ।
तीन जना एआईजीमा बढुवा भएसँगै सिंह र धानुक पनि भावी प्रहरी महानिरीक्षकका लागि दाबेदार बनेका छन् भने पन्त वैशाख १९ गते नै अवकाश हुने छन् ।
प्रहरी नियमावलीमा एआईजीहरुमध्येबाट सरकारले चाहेको व्यक्तिलाई आईजीपीमा नियुक्त गर्न सक्ने प्रावधान छ । यसअघि नै विश्वराज पोखरेल र सहकुलबहादुर थापा एआईजी बनिसकेका छन् । हालका आईजीपी थापाले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् ।



















