काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा बिहिबारबाट ललितपुरमा २३ औं पुष्प मेला सुरु भएको छ ।
एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङको अध्यक्षतामा भएको पुष्प मेलाको उद्घाटन बागमती प्रदेश सरकारका कृषि राज्यमन्त्री इन्दुमाया गुरुङले गरेकी हुन । उनले नेपालमा ६५ प्रतिशत जनता कृषिमा संलग्न रहेका मध्ये एक प्रतिशत पुष्प खेतीमा लागेको बताउँदै यस व्यवसायीलाई वैज्ञानिक ढंगबाट अगाडि बढाउन सके आर्थिक वृद्धिमा राम्रो सहयोग गर्न सकिने बताएकी छिन् ।
त्यस्तै कृषि विभागका महानिर्देशक डा. रेवतीरमण पौडेलले पुष्प व्यवसायमा आकर्षणको क्षेत्र भएको र हाल ९० प्रतिशत आन्तरिक उत्पादनले पुगिरहेको बताउँदै सरकारले पनि ध्यान दिए नेपाल फूलमा आत्मनिर्भर हुने बताए ।
त्यस्तै उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष सकुन्तालाल हिराचनले मेलाहरुले फूलको प्रचार प्रसार तथा व्यपार प्रवर्द्धनमा पनि सहयोग पुग्ने बताएका छन् । उनले पुष्प व्यवसायको विकासका लागि महासंघ सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
एशोसिएसनका अध्यक्ष तामाङले पुष्प व्यवसायी आफ्नो बलमा आत्मनिर्भरतर्फ अगाडि बढेको बताउँदै सरकारले कुनै किसिमको सहयोग नगरेको गुनासो गरेका छन् । कृषिका धेरैजसो उत्पादनलाई अत्यावश्यवस्तुमा राखेपनि फूललाई त्यसमा नराँदा व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नु परेको बताएका छन् । पुष्प व्यवसायमा सरकारले थोरै भएपनि सहयोग गरे निर्यातको अवस्थामा पुग्न सकिने बताएका छन् । उनले पुष्प प्रवद्र्धन नीतिलाई परिमार्जनसहित कार्यान्वयनमा ल्याउन आग्रह पनि गरेका छन् ।
एसोसिएसनका महासचिव विश्वमणी पोखरेलले ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ मेलाको आयोजना गरिएको जानकारी दिएका छन् । पुष्प मेलामा अफिसियल स्टल ४ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल २ वटा र व्यवसायिक स्टलका लागि ५६ वटा सहित जम्मा ६२ वटा स्टल रहेका छन् ।
मेलामा मौसमी फूल, आलकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी आधुनिक पुष्प खेती प्रविधी र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहेका छन् ।
मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको छ । मेला आगामी आइतवारसम्म चल्ने छ ।