उदयपुर । सप्तकोशीमा बाँसको चेफामार्फत् ल्याउँदै गरेको ४ सय किलोग्राम अबैध गाँजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तकोशीमा बाँसको चेफामाथि राखेर ल्याउँदै गरेको प्रतिबन्ध लागूऔषध गाँजा बरामद गरेको सशस्त्रले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प रामपुरठोक्सिलाले सप्तकोशीस्थित बाँसको चेफामा बगिरहेको अबस्थामा ४ सय किलोग्राम गाँजा फेला पारेका हुन् । उदयपुर, खोटाङ, भोजपुर र धनकुटा क्षेत्रबाट दैनिक जसो बाँस चेफा ढुवानी हुने सप्तकोशीमा अबैध गाँजा समेत ओसारपसार हुने गरेको छ । आइतवार बिहान २ बजेतिर सप्तकोशीमा बिस्तारै बग्दै आएको बाँसको चेफामा बेवारिसे अबस्थामा गाँजा फेला पारेको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प रामपुरठोक्सिलाका सशस्त्र प्रहरी निरीक्षक सुमन बुढाथोकीले जानकारी दिए ।
गाँजा पहाडी जिल्ला भोजपुरबाट ल्याएको हुन सक्ने अनुमान गरिएको छ । गाँजा मात्र फेला परेको र मान्छेहरु पत्ता नलागेको हुँदा खोजी कार्य र निगरानी गर्ने काम भइरहेको सशस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति कृष्णराज अधिकारीले जानकारी दिए । सशस्त्र प्रहरी निरीक्षक बुढाथोकीको टोली फेला पारेको गाँजा गणमा ल्याई जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बुझाइने बताए । गाँजा ओसारपसारमा संलग्न ब्यक्तिहरुको पहिचान नभए पनि खोजी राखिरहेको गणपति अधिकारीले बताए ।

























