ओखलढुंगा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ सिस्नेखोलामा आइतबार जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना भने घाइते भएका छन् ।
मृत्यु हुनेमा जिपमा सवार ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–३ बस्ने ३८ वर्षीया कुमारी श्रेष्ठ रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सामुदायिक अस्पताल ओखलढुङ्गामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये चालक र अर्का एकजनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेको सामुदायिक अस्पताल ओखलढुङ्गामै उपचार भइहेको छ ।
माम्खाबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०२ ०–०१ ज ३८७५ नम्बरको जिप आइतबार बिहान ८ बजे अनियन्त्रित भई दुर्घटना भएको हो ।

























