काठमाडौं । आज राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमहरुको आयोजना गरी ‘महाशिवरात्री तथा सेना दिवस – २०७८’ मनाइएको छ ।
सेना दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नु भई वीर शहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्नु भएको थियो भने नेपाली सेनाको सम्मान गारतले राष्ट्रपतिलाई सलामी अर्पण गरेको थियो ।
सेना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा, नेपाली सेनाको हेलिकप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा र ‘महाशिवरात्री तथा सेना दिवस -२०७८’ तथा “Army Day” लेखिएको व्यानर प्रदर्शन तथा पुष्पबृष्टी गरिए पश्चात आर्मी चिन्ह र स्वस्तिक चिन्ह आकृति निर्माण गरी राईफल र तोपबाट महाशिवरात्रीको बढाइँ गरिएको थियो ।
त्यस्तै विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन, शान्ति कार्य, प्रकृति संरक्षण, आर्टिलरी, कम्व्याट इन्जिनियर्स, सैनिक सञ्चार तथा हवाई सुरक्षा सम्बन्धी विभिन्न हातरहतियार, भेहिकल तथा उपकरणहरुको प्रदर्शन, मार्च पाष्ट, विशेष फौज बाहिनीबाट फ्रि(फल जम्प लगायत विभिन्न संस्कृती झल्कने नाच एवं गतिविधि समेतको प्रदर्शन गरिएको थियो । यसका साथै, नेपाली सेनाको व्याण्ड र मित्रराष्ट्र बेलायतको Band of The Brigade of Gurkhas बाट व्याण्ड प्रदर्शन समेत गरिएको थियो ।
सो समारोहमा राष्ट्रपतिबाट ‘सिपाही बार्षिक-२०७८’ तथा “Glorious Past of Nepal Army” नामक पुस्तकको विमोचन गर्नुको साथै फ्रि-फल जम्पमा प्रथम र द्वितिय हुने सैनिकहरुलाई पुरस्कार समेत वितरण गर्नु भएको थियो ।
‘महाशिवरात्री तथा सेना दिवस-२०७८’ को अवसरमा बहालवाला रथीवृन्द ५ जना, अधिकृत १०७ जना, पदिक १३४ जना र अन्यदर्जा ४२२ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरु ४ जना र गैह्र सैनिक ४३ जना गरि जम्मा ७१५ जनाले प्रधान सेनापति प्रशंसा निशान प्राप्त गरेका थिए । साथै, सोही समारोहमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले देहाय अनुसार दर्ज्यानी चिन्ह, ट्रफी तथा पुरस्कारहरु समेत वितरण गर्नु भएको थियो ।
मानार्थ उप सेनानी पदमा पदोन्नती हुनु भएका ७३ जना पदिकहरु मध्ये उपत्यका भित्र कार्यरत २६ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
– प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गणतर्फ प्रथम र द्वितिय भएका क्रमशस् श्री शम्शेरदल गण र श्री खड्गदल गण तथा गुल्मतर्फ श्री रणशुर गुल्म र श्री शत्रुमर्दन गुल्मलाई प्रकृति संरक्षण ट्रफी ।
– प्रधान सेनापति व्यानर प्रतियोगिता-२०७७ मा प्रथम, द्वितिय र तृतीय हुने गणहरु तथा विभिन्न विधामा प्रथम हुने गणहरुलाई पुरस्कार ।
– केन्द्रिय सैनिक ड्रिल प्रतियोगितामा प्रथम हुने कमाण्ड हे.क्वा.लाई पुरस्कार ।
– अर्धबार्षिक दौडमा प्रथम हुने पुरुष र महिलालाई पुरस्कार ।
– Band of The Brigade of Gurkhas का व्याण्ड मेम्बरहरुलाई प्रशंसा पत्र प्रदान ।
– प्रधान सेनापति उत्कृष्ट कृषक सम्मान-२०७८, प्रधान सेनापति उत्कृष्ट उद्यमी सम्मान-२०७८, प्रधान सेनापति उत्कृष्ट समाजसेवा सम्मान-२०७८, प्रधान सेनापति सफल लघुवित्त उद्यमी सम्मान- २०७८ ।
कोभिड–१९ स्वास्थ्य मापदण्डलाई पालना गर्दै आयोजना भएको ‘महाशिवरात्री तथा सेना दिवस-२०७८’ को अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री तथा रक्षा मन्त्री, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्री, विभिन्न संवैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका अन्य विशिष्ट पदाधिकारीहरु, विभिन्न विदेशी दुतावासका राजदुतहरु, नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, विभिन्न मुलुकहरुका सैनिक सहचारीहरु लगायत सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।