धनगढी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसीसीले प्रचण्ड र माधव नेपालको सत्तावादी चरित्र प्रष्ट पारेको बताएका छन् ।
प्रेस चौतारी नेपाल, कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले प्रचण्ड र नेपाल सत्ताका लागि जुनसुकै हदसम्म जान तयार रहेको कुरा एमसीसीले प्रमाणित गरेको बताए ।
‘उहाँहरू (प्रचण्ड र नेपाल) एमसीसी ठीक छ त्यसैले स्वीकार गर्यौं भन्न सक्नुहुन्न । कांग्रेसले एमालेसँग मिलेर सभामुख हटाउने र एमालेले कारबाही गरेका १४ सांसदलाई पदच्यूत गर्ने भएकाले समर्थन गरेको भन्नुहुन्छ’ ज्ञवालीले भने, ‘दुवै नेताकै कारण आज एमसीसीमा अमेरिका र चीन आमनेसामने हुने अवस्था पनि सिर्जना भयो । यो हाम्रा लागि दुर्भाग्यपूर्ण छ ।’