काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदमा टेबुल भएको एमसीसी पारित गराउने दायित्व प्रतिपक्षी दलको नभएको बताउनुभएको छ । संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले यस्तो धारणा राख्नुभएको हो ।
उहाँले एमालेले उठाएका माग सम्बोधन नगरी सरकारलाई कुनै पनि एजेण्डामा सहयोग गर्न नसकिने प्रष्ट पार्नुभयो । प्रधानमन्त्री देउवाले एमालेसँग निकट हुन खोजेको विषयबारे उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीजीले एमालेसँग ब्ल्याङ्क चेक माग्नुभएको छ । एमालेले ब्ल्याङ्क चेक दिदैन ।’
उहाँले गठबन्धन भत्काउन एमालेले कतै पनि धुम नबालेको बताउनुभयो । ‘गुटका संकट पार्टीमा, पार्टीको संकट गठबन्धनमा थोपर्ने र गठबन्धनको संकटलाई राष्ट्रिय संकट बनाउने काम भएको छ । यो गठबन्धन भत्काउन हामी लागेका छैनौं तर भत्कनु मुलुकको हितमा हुनेछ’, उहाँले भन्नुभयो ।