काठमाडौं । नेपालले युक्रेनमाथि रुसले गरेको शक्ति प्रयोगको विरोध जनाएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै रुसी कदमको विरोध गरेको हो ।
‘नेपाल सरकारले युक्रेनको घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ । तनाव नबढाउन र सबै पक्षलाई अधिकतम संयम अपनाउन नेपाल आग्रह गर्दछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।
संयुक्त राष्ट्र संघको सदस्यको हैसियतले नेपालले राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूको पालना गर्न नेपालले रुसलाई आग्रह गरेको छ ।
परराष्ट्रले राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरूले सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूको पूर्णरूपमा सम्मान गर्नुपर्ने बताएको छ ।
‘युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रहरूलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिनु संयुक्त राष्ट्र संघको बडापत्रको प्रावधान विपरीत हो । नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधान खोज्नेमा विश्वास गर्दछ,’ परराष्ट्रले स्पष्ट शब्दमा भनेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज युक्रेनमा आक्रमण गर्न सेनालाई निर्देशन दिएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।