कास्की । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधि र राजनीतिकर्मी मतदाता र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको छ ।
कास्कीको पोखरामा शनिबार आयोजित कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागितासम्बन्धी अन्तर्क्रियाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रमको आयोजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो । यसलाई विश्व स्वास्थ्य संगठनले पनि सहयोग गरेको थियो । अन्तरक्रियामा अध्यक्ष तिमिल्सिनाले कोभिडसम्बन्धी विभिन्न भेरियन्ट देखिने क्रम नरोकिएकाले जनप्रतिनिधि तथा राजनीतिकर्मीले यसबारे जानकारी राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले विश्वमा जनप्रतिनिधिले कोभिडविरुद्ध के के गरे भन्ने सन्दर्भको समीक्षा गर्दा नेपाल अगाडि रहेको दाबी पनि गर्नुभयो । ‘कोभिड न्यूनीकरणमा नेपालले विश्वसामु गर्व लाग्ने ढंगले काम गरेको छ,’ उहाँले भन्नुभयो,‘गर्नुपर्ने अझै धेरै छ । राजनीतिक परिवर्तन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा मुलुक आइपुगे पनि दलहरूबीचको खिचातानीले देश अझै अस्थिर र अन्योलमा हुनु सकारात्मक होइन ।’
कार्यक्रममा सातवटै प्रदेशका सभामुख र उपसभामुख, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश संभाजिराव पाण्डवलगायतको उपस्थिति रहेको थियो ।