लमजुङ । नेपाली कांग्रेस लमजुङले केन्द्रीय महासमिति सदस्य पदका लागि १४ फागुनमा निर्वाचनको मिति तय गरेको छ । यसअघि मंसिर पहिलो साता निर्वाचन सकेको कांग्रेसले ३ महिनापछि महासमिति सदस्य पदका लागि निर्वाचन गर्न लागेको हो ।
जिल्ला अधिवेशन सकिएलगत्तै महासमिति सदस्य पदमा निर्वाचन गर्नुपर्नेमा निर्वाचनका कारण पार्टीका प्रतिनिधि, उम्मेदवार, आयोजक, निर्वाचन कर्मचारीलगायत सवैमा थकान भएपछि पछि सारिएको कांग्रेसले बताएको थियो ।
कांग्रेस नेता कार्यकर्ता गुट-उपगुटमा लागेपछि त्यतिबेला महासमिति सदस्य पदको निर्वाचन गर्न कांग्रेसलाई गाह्रो परेको थियो । अहिले प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन सकिएपछि जिल्लामा महासमितिकिो निर्वाचन गर्न कांग्रेस तत्पर देखिएको हो ।
कांग्रेसको महासमिति सदस्य निर्वाचन कार्यातालिका अनुसार मतदाता नामावली शुक्रबार प्रकाशन भएको थियाे । आज दिउँसो १ बजेसम्म उमेदवारको मनोनयन फिर्ताको समय राखिएको छ । उमेदवारको अन्तिम नामावली प्रकाशन आजै हुनेछ । मतदान कार्य १४ फागुन बिहान ९ बजेबाट बेलुका ५ बजेसम्म हुनेछ । मतदान सकिएपछि मतगणना हुनेछ । मतगणना सकिएपछि नतिजा प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन कार्यक्रम नेपाली कांग्रेस जिल्ला कार्य समितिको कार्यालय, लमजुङमा हुनेछ ।
केन्द्रीय महासमिति सदस्य पदका उमेदवारले मनोनयनका लागि १४ हजार रुपियाँ बुझाउनुपर्ने छ । कांग्रेसको विधानको धारा ११ को उपधारा ३ (क) बमोजिम केन्द्रीय महासमिति सदस्य पदका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन ११ पदमा हुने छ । महिला सदस्य (प्रत्यक्ष) २ जना, खुला सदस्य (प्रत्यक्ष) ५ जना, महिला, दलित, आदीवाशी जनजाती, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट ४ जना निर्वाचित हुने कांग्रेसले जनाएको छ ।