काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्धकाे महाभियाेगकाे विपक्षमा उभिएका छन् । सत्ता गठबन्धनका सांसदले जबराविरुद्ध आइतबार महाभियाेग प्रस्ताव दर्ता गरेपछि थापाले प्रपञ्चमा महाभियाेग ल्याइएकाे जिकिर गरे ।
साेमबार बिहान सामाजिक सञ्जालमा टिप्पणी लेख्दै थापाले महाभियाेग प्रपञ्च हुनुका तीन कारण औँल्याएका छन् ।
उनले पहिलाे कारण त एमसिसीमा सत्तासिन नेपाली कांग्रेसकाे स्वार्थ रहेकाे बताएका छन् । एमसिसी पारित गर्न सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले अस्वीकार गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसीमा माओवादी र समाजवादीकाे माैन समर्थन रहने सर्तमा महाभियाेग प्रस्तावमा राजी भएका हुन् । अर्थात एमसिसी संसदमा टेबल गर्न माओवादी र एकीकृत समाजवादी राजी भएकाे तर मतदानमा भाग लिने छैनन्, मतदानका बखत ती दलका सांसद अनुपस्थित हुनेछन् ।
त्यस्तै, थापाले दाेस्राे कारणमा सभामुख अग्निप्रसाद सापकाेटाविरुद्ध विचाराधीन मुद्दा रहेकाे बताएका छन् । द्वन्द्वकालमा २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्याको आरोपमा सापकाेटालगायत केहीविरुद्धकाे मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ । याे मुद्दालाई थापाले माओवादी स्वार्थ भनेका छन् ।
त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका १४ सांसदमाथि कारबाही गरेकाे बताएका थिए । तर, याे विषयमा सभामुखले निकास नदिएपछि सर्वाेच्चमा मुद्दा परेकाे छ । याे विषयमा एकीकृत समाजवादीकाे स्वार्थ रहेकाे उनले बताएका छन् ।
थापाले लेखेका छन्- ‘प्रन्यालाई हटाउनु पर्ने बेला चुपचाप बस्ने,अहिले एमसिसी पास गर्ने (कंग्रेस स्वार्थ),हत्या अभियोगबाट सभामुखलाई जोगाउने(माओवादी स्वार्थ) र नेकपा(एस)को सांसद पद जोगाउने प्रपञ्चमा प्रन्या राणाविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीतिभित्र रहेको विकृतिको नमुना हो ।’