चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्डफ्लु भेटिएको छ । राप्ती नगरपालिका-६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्डफ्लु भेटिएको हो । फर्ममा पालिएका दुई हजार कुखुरामध्ये बर्डफ्लुले दुई सय कुखुरा मरिसकेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
कुखुरा भटाभट मरेपछि २५ माघमा कुखुराको नमुना लिएर बर्डफ्लु परीक्षण गरिएकोमा बुधबार पुष्टि भएको हो । ‘बर्डफ्लु नियन्त्रणका लागि फर्मबाट सय मिटर आसपास चारैतिर भएका पक्षीहरू केहीबेरमा नष्ट गर्दै छौँ । बर्डफ्लुले फर्मका करिब दुई सय कुखुरा मरेका छन्’, उनले भने ।
बर्डफ्लुको रोकथाम तथा नियन्त्रणका लागि बुधबार केन्द्रबाटै बर्डफ्लु देखिएको फर्मको सय मिटर आसपासमा पालिएका पक्षीहरू नष्ट गर्न निर्देशन दिइएको थियो । सोहीअनुसार आज केहीबेरमा फर्म आसपासका पक्षीहरू नष्ट गर्ने तयारी भइरहेको तामाङले बताए ।