काठमाडौं । आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजालमाथि पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर आएको भौतिक आक्रमणको धम्कीप्रति नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति र पत्रकार महासंघ काठमाडौं शाखाले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरेर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले शाखा सदस्य तथा केन्द्रीय पार्षद एवं आर्थिक दैनिकमा सम्पादक रिजालमाथि आएको भौतिक आक्रमणको धम्कीप्रति आपत्ति जनाएको छ । सम्पादक रिजाललाई आर्थिक दैनिकमा प्रकाशित समाचारलाई लिएर सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठले गत आइतबार ललितपुरको होटल हिमालयमा बोलाएर छुरी हान्ने धम्की दिनु अत्यन्त निन्दनीय भएको भन्दै महासंघले दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग पनि गरेको छ ।
‘प्रकाशित समाचारकाको विषयमा चित्त नबुझे त्यसउपर कानुनी उपचार खोज्ने निकाय र प्रशस्त बाटो हुँदाहुँदै पत्रकारलाई भौतिक आक्रमण गर्ने धम्की दिने कार्य प्रेस स्वतन्त्रताविरोधी र ठाडो हस्तक्षेप भएको काठमाडौं शाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सो कार्यको घोर भर्त्सना गर्दै महासंघले धम्की दिने श्रेष्ठलाई तत्काल कानुनी दायरामा ल्याई प्रेस स्वतन्त्रता र सुरक्षाको ग्यारेन्टी गर्न सम्बद्ध निकायसँग माग समेत गरेको छ ।

यसअघि मंलबार नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले पनि सो धम्कीको भर्त्सना गरेको थियो । समितिले जारी गरेको विज्ञप्तिमा अध्यक्ष श्रेष्ठले सम्पादक रिजाललाई भौतिक आक्रमणको धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोज्न आग्रह गरेको छ ।
पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको जनाउँदै समितिले घटनाको कडा भत्र्सना गर्दै धम्की दिने व्यक्तिहरुलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ ।
सेञ्चुरी बैंकको ठगीसम्बन्धी समाचारलाई लिएर सेन्चुरी बैंकका अध्यक्ष श्रेष्ठले आइतबार सम्पादक रिजाललाई कुपण्डोलमा रहेको होटल हिमालयमा बोलाएर त्यस्तो धम्की दिएका थिए ।
सो घटनाबारे सम्पादक रिजालले भने “नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका एक पत्रकारमार्फत मलाई होटल हिमालयमा बोलाइएको थियो । उनले शुक्रबार फोन गरी श्रेष्ठले चिनापर्ची गर्न खोजेको बताउँदै भेटघाट गर्ने प्रस्ताव गरेका थिए । मैले आइतबार भेटौँला भनेका थिएँ । आइतबार फेरि केन्द्रीय सदस्यले ताकेता गरेपछि दिउँसो २ बजे होटल हिमालयमा भेट्ने सहमति भएअनुसार म त्यहाँ पुगेको थिएँ । भेटमा अध्यक्ष श्रेष्ठले मेरो बैंकको विरुद्ध समाचार लेखेको कारण मेरो श्रीमतीले मलाई आर्थिक दैनिकको कार्यालय अगाडि पुर्याइदिनुहोस्, म त्यो समाचार लेख्ने सम्पादकलाई छुरी हान्छु भनेकी छिन् भनेर श्रेष्ठ र मलाई भेट गराउनेकै अगाडि सुनाए ।”
सम्पादक रिजालले थपे “मैले कार्यालयमा प्रतीक्षा गर्ने जवाफ दिएँ । यसअघि वन निगमका प्रमुख कार्यकारी अधिकृत रामेश्वर भट्टराईले पनि त्यस्तै धम्की दिएको घटना स्मरण पनि गराएँ ।”
सम्पादकलाई भौतिक आक्रमणको धम्की आउने के समाचार छापिएको थियो आर्थिकमा ?

























