काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन् ।
अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो मागको सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहेका थापाले हेटौडामा पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरेका हुन ।
पत्रकार सम्मेलनमा थापाले अत्यन्त भारी मन तथा पीडाबोधका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको बताए । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने चाहना भएतापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि पार्टीबाट अलग हुने निर्णय गर्नु परेको थापाले बताएका छन् ।
पार्टीको महाधिवेशनमा अध्यक्षका प्रत्यासी थापा पराजित भएपछि आफू राजेन्द्र लिङदेनसँग होइन पूर्वराजासँग हारेको आरोप लगाउँदै आएका छन् । उनले पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै पार्टीले त्यसको छानविन गर्नुपर्ने माग गरेका थिए । तर अध्यक्ष लिङदेनले राजसंस्था र हिन्दु राष्ट्र मान्ने पार्टीको महाधिवेशनमा पूर्वराजाको चासो भए पनि हस्तक्षेप नभएको बताउँदै थापाले भने जस्तो छानविन नहुने बताउँदै आएका छन् ।