काठमाडौं । बढदो चिसो तथा प्रतिकुल मौसमका कारण देशका विभिन्न स्थानहरुमा अत्याधिक हिमपात भई जनजिवन प्रभावित तथा यातायात सेवा समेत बन्द भई रहेको अवस्थामा नेपाली सेनाले विभिन्न ठाउँको सडक खण्डमा जमेको बाक्लो हिमपात हटाई यातायात सूचारु गराएको छ ।
माघ २० गते नेपाली सेनाद्वारा अन्य सुरक्षा निकायहरुको सहयोगमा बैतडी जिल्लास्थित दशरथचन्द राजमार्ग (सतबाँझ–गोठलापानी) र महाकाली लोकमार्ग (खोडपे–पाटन–सतबाँझ–धरमघर) सम्म सडकमा जमेको हिमपात हटाई यातायात सूचारु गराएको बताइएको छ ।
त्यस्तै माघ २२ गते नेपाली सेनाद्वारा अन्य सुरक्षा निकायहरुको सहयोगमा अछाम जिल्ला, मंगलसेन नगरपालिका, वडा नं. ६ स्थित ठूलासैनदेखि कमलबजार नगरपालिका, वडा नं. ५ स्थित गैरिटाँडसम्म जमेको हिउँ पन्छ्याई मध्य पहाडी लोकमार्गमा यातायात सूचारु गराएको जनाइएको छ ।
उता नेपाली सेनाद्वारा नेपाल प्रहरीलगायत स्थानीयवासीहरुको सहयोगमा भिमदत्त राजमार्ग सडक खण्ड अन्तर्गत डडेलधुरा जिल्ला, गन्यापधुरा गाउँपालिका, वडा नं. १ स्थित भात्कांडा ईलाकादेखि साहुखर्क तथा साहुखर्कदेखि गैरा हुँदै हगुल्टे सडक खण्डमा जमेको हिउँ पन्छ्याई राजमार्ग सूचारु गराएको जनाएको छ। साथै उक्त सडक खण्डमा फसेका यात्रुहरुलाई नेपाली सेनाद्वारा खाद्यान्न (बिस्कुट, अण्डा, पानी, चिया) तथा औषधि समेत उपलब्ध गराईएको बताइएको छ ।