अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सचिव टोप बहादुर रायमाझीले विचारको आधारमा नभई विषयको आधारमा कलम चलाउन पत्रकारलाई आग्रह गरेका छन् ।
नेकपा एमाले निकट पत्रकारहरूको जिल्ला अधिवेशनलाई अर्घाखाँचीमा सम्बोधन गर्दै रायमाझीले सङ्क्रमणकालीन स्थितिमा समेत पत्रकारहरूले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै विचार होइन विषयलाई आधार बनाएर समाचार लेख्न सुझाएका हुन् ।
आफूहरूले मेहनतका साथ सुरु गरेका योजना निरन्तर अगाडि बढेको भन्दै रायमाझीले राम्रो कामलाई राम्रो र नराम्रो कामलाई गलत भन्न सक्नेगरी लेखनसीपको विकास गर्नुपर्ने बताएका छन् ।
फरक प्रसंगमा रायमाझीले अर्घाखाँचीले छोटो समयमा उल्लेख्य विकास प्राप्त गर्न सफल भएको समेत दाबी गरेका थिए । जिल्लालाई नमुना जिल्ला बनाउनका लागि सबैको सहयोग आवश्यक भएकोमा रायमाझीको जोड रहेको थियो ।
नेता रायमाझीले सत्तापक्षले प्रतिपक्षीलाई आरोप लगाएर उम्किने सत्ता पक्ष नेपालमा मात्र भएको भन्दै एमालेसँग सबै पार्टीहरू झस्किएको बताए । एमालेको लोकप्रियता बढेकै कारण सबैले एमालेको डर मानेको रायमाझीको दाबी थियो ।