काठमाडौं । तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्नबाट सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्षीबीच बैठक बसेको थियो ।
बैक्ठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली बीचको बैठक सकिएको हो ।
बैठकमा स्थानीय तह निर्वाचन, एमसिसी, अवरुद्ध संसद खुलाउनेसहितका विषयमा छलफल भएको जनाइएको छ । अध्यक्ष ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलोपटक बालुवाटार जानुभएको हो ।
एमाले महासचिव शंकर पोखरेलका अनुसार छलफलमा गठबन्धनका नेताहरुसहित कानुनमन्त्रीसमेत रहेको थियो ।
उहाँका अनुसार पछिल्लो राजनीतिक परिस्थितिका बारेमा विस्तृत रुपमा छलफल गरिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीलगायतका विषयलाई अगाडि बढाउन सहयोग गर्न एमालेसँग आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसिसीका सन्दर्भमा र सदन सुचारु गर्न एमालेले सहयोग गरोस् भन्ने अपेक्षा गरेको जानकारी दिनुभयो । प्रचण्डले चुनावसम्म सत्तापक्ष र प्रतिपक्षीसँग मिलेर राष्ट्रिय मुद्दाहरुमा मिलेर जानुपर्ने धारणा राख्नुभएको थियो ।
एमालेले एमसिसीमा सत्ता पक्षले दृष्टिकोण राखेपछि आफूहरुले दृष्टिकोण प्रस्तुत गर्ने धारणा राखेको उहाँले जानकारी दिनुभयो ।
प्रतिनिधिसभाको बैठक सुचारु गराउन आफूहरु तयार रहेको भए पनि सत्ता पक्ष जिम्मेवार नभएको उहाँले आरोप लगाउनुभयो ।
‘प्रतिनिधिसभामा उपस्थित रहेर भाग लिन चाहन्छौं तर वातावरण बनाउने जिम्मेवारी सत्ता पक्षको हो र सत्तापक्षले सकेको छैन सभामुखका कारण उपस्थित हुन समस्या छ’ उहाँले भन्नुभयो ।