काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने पार्टी एमाले भएको बताउनुभएको छ । वसन्त पञ्चमी श्रीपञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुहुँदै अध्यक्ष ओलीले सरकारमा रहँदा एमालेले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि मुलुकको नवनिर्माणको अभियान सञ्चालन गरेको बताउनुभयो ।
उहाँले ’समृद्ध नेपाल, सुखी नेपाली’ हामी नेपालीहरूको साझा राष्ट्रिय आकाङ्क्षा भएको बताउनुहुँदै नेकपा (एमाले)ले यसलाई आफ्नो गन्तव्य बनाएको बताउनुभयो ।
उहाँले ’समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय उद्देश्यलाई प्राप्त गर्न स्पष्ट दूर दृष्टि, तदनुसारका नीति र कार्यक्रमहरू एवं ती नीति र कार्यक्रमहरूलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्य योजना र आवधिक लक्ष्यहरूसहित नेकपा (एमाले) अघि बढिरहेको बताउनुभएको छ ।
“हामीलाई संवैधानिक अपव्याख्याद्वारा सरकारबाट हटाइए पनि नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर, अव्यवस्थाबाट सुव्यवस्थातिर लैजाने हाम्रो यस गन्तव्यलाई हामी अवरोध पुर्याउन दिने छैनौँ।” उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ । “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गरेर जनताको जीवनमा खुसी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनु पर्नेछ ।”
सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा गर्ने हाम्रो प्राचीन ज्ञान शास्त्रीय परम्परा छ । जहाँ ज्ञानलाई प्रकाश मानिएको छ र प्रकाशको उपस्थितिले अन्धकार, भय र अज्ञानता हट्ने उल्लेख छ ।
सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेको बताउनुहुँदै अध्यक्ष ओलीले जानकी प्रतीक मानिने सरस्वतीको जन्म जयन्तीका रूपमा मनाइने वसन्त पञ्चमीका अवसरमा समस्त दिदीबहिनी–दाजुभाइहरूमा त्यस्तो प्रज्ञाप्रकाश प्राप्त हुन सकोस्,भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।
“प्रज्ञाप्रकाशको प्रतीकका रूपमा सरस्वती पूजा गरी वैदिक कालदेखि नै मनाइँदै आएको यस पर्वका अवसरमा काव्यविनोदीः अष्टा, सर्जक, साहित्य, सङ्गीत र कला साधक तथा ज्ञानका अध्येताहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ।” उहाँले सन्देशमा भन्नुभएको छ ।


























