विराटनगर । सत्तारुढ गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर संख्या बढाएको छ । गत आइतबार मन्त्रालयहरुको संख्या ७ बाट १२ बनाइएकोमा फेरि एक थपेर १३ पुर्याइएको छ ।
आठजना मन्त्रीहरुको आज शपथ ग्रहण कार्यक्रम छ । आज बिहान ११ बजे शपथ ग्रहण कार्यक्रम राखिएको मुख्यमन्त्री कार्यालयले स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसलाई मुख्यमन्त्री राजेन्द्र राईले चार वटा मन्त्रालय दिने तयारी गरेका थिए । तर नेपाली कांग्रेसले पाँच वटा पाउनुपर्ने दाबी नछाडेपछि मन्त्रालयको संख्या बढाएको हो । यद्यपि सरकारले मन्त्रालय विभाजन गरेको निर्णय औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।
गत कात्तिक १६ गते मुख्यमन्त्री बनेका राईले सोही दिन पाँच सदस्यीय मन्त्रीमण्डल बनाएका थिए । प्रदेशमा रहेका सात वटा मन्त्रालय विभाजन गरी १३ बनाएपछि आज थप ८ जना नियुक्ति गर्ने तयारी गरेका छन् ।
शपथ ग्रहण अघि गठबन्धनको बैठक बस्दैछ । आइतबार नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट तीन-तीन र माओवादी केन्द्रबाट दुई जनाले मन्त्रीको शपथ ग्रहण गर्नेछन् ।
माओवादी केन्द्रबाट रामकुमार राई, झलकसिंह दर्लामी मन्त्री बन्ने निश्चित भएको छ । नेकपा एकीकृत समाजवादीबाट राजन राई, खिनु लिम्बु, उपेन्द्र घिमिरेको नाम फाइनल भएको छ ।
नेपाली कांग्रेसले प्रतापप्रकाश हाङगाम, ओमप्रकाश सराबगी, शेखरचन्द्र थापाको नाम अघि सारेको छ । तीन जना सभापति शेरबहादुर देउवा निकट हुन् । मन्त्री बन्नेको नाम लगभग फाइनल भएको कांग्रेसका एक नेताले बताए । ‘केन्द्रबाट आएको लिष्ट हो यो,’ ती नेताले भने, ‘डाक्टर शेखर कोइराला पक्षले असन्तुष्टि व्यक्त गरिरहेको छ ।’
नेकपा एकीकृत समाजवादीका नेता राईले नेतृत्व गरेको सरकारमा हाल नेपाली कांग्रेसबाट दुई, माओवादी केन्द्र र जसपाबाट एक-एक जना मन्त्री छन् । एक जना राज्यमन्त्री छन् । मन्त्रिपरिषद् विस्तारपछि कांग्रेसका पाँच, नेकपा एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका तीन र जसपाका एक जना मन्त्री रहने छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना राज्यमन्त्री छन् ।