ललितपुर । ललितपुरका नेता रामकृष्ण हुमागाईं फेरि एमालेमा प्रवेश गर्नुभएको छ । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटघाटपछि उहाँ एमाले पार्टीमा फर्कन राजी हुनुभएको हो ।
एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले हुमागाईंसँग सघन वार्तापछि उहाँ एमालेमा फर्कन तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी उहाँलाई पार्टीकै महत्वपूर्ण जिम्मेवारी दिँदैछौं ।’
गत निर्वाचनमा प्रदेश सांसदको उम्मेदवारी दिने लगभग पक्का भएको अवस्थामाा उहाँले टिकट नपाउँदा असन्तुष्ट हुनुहुन्थ्यो । तत्कालीन समयमा माओवादी केन्द्रसँग पार्टी एकता हुँदा उहाँले कुनै जिम्मेवारी नपाएपछि असन्तुष्ट हुँदै नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।
कांग्रेसको जिल्ला अधिवेशनमा उहाँ आन्तरिक प्रतिस्पर्धाका कारण प्राथमिकतामा नपर्दा निराश हुनुभयो । केही समयअघि उहाँले सामाजिक सञ्जालमा लेख्दै पार्टीमा नरहेको घोषणा गर्नुभएको थियो ।
बालकोटमा राति अवेरसम्म भएको छलफलमा संघीय सांसद नवराज सिलवाल, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, स्थायी कमिटी सदस्य सुशीला नेपाललगायत सहभागी थिए ।