बुटवल । जनमत पार्टीले अघि सारेका मागहरु सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै रुपन्देहीका विभिन्न स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला जलाएको छ ।
जनमत पार्टी रुपन्देहीको आयोजनामा रुपन्देहीको धकधई, बनगाईलगायतका स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला जलाएको हो । सो पुत्ला दलन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । तर कसैलाई पक्राउ भने गरेको छैन ।
जनमत पार्टीले किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमै मल र बिउको उपलब्ध हुनुपर्ने, सिंचाईको व्यवस्था, सिंचाई नभएको ठाउंँमा सिंचाईका लागि प्रयोग हुने विद्युत निःशुल्क, किसानलाई राहत,कृषि बालीको समर्थन मूल्य, उखु किसानको बक्यौता भुक्तानी, किसानलाई पेन्सन लगायतका माग राखेको छ ।
पार्टीले पुस १२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई किसानका समस्या,नागरिकता समस्या लगायतका मागहरु समेटिएको ज्ञापनपत्र बुझाए पनि मागहरु सम्बोधन गर्नुको साटो आन्दोलनमा सरकारले दमन गरेको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए ।
पार्टीले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई पनि माघ १२ गते ज्ञापनपत्र बुझाएको थियो । माग पूरा नहुँदासम्म पार्टीले अनिश्चितकालीन मधेश आन्दोलन गर्ने घोषणा गरेको छ ।