काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट विकास समिति (एमसीए-नेपाल) ले एमसीसी सम्झौतासँग सम्बन्धित कुनै पनि विषय वा दस्तावेज नलुकाएको दाबी गरेको छ ।
एमसीए नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीसीसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू नरहेको जनाएको हो । एमालेको सरकारको पालामा एमसीसीसँग सम्बन्धित केही दस्तावेजहरु लुकाइए र त्यसलाई गठबन्धन नेतृत्वको एमसीसी सम्झौता अध्ययन समितिले फेला पारेको भन्दै विभिन्न समाचारहरु सार्वजनिक भइरहँदा एमसीए नेपालले भने यस्तो दाबी गरेको हो ।
‘एमसीए नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ’,एमसीए नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।