काठमाडौं । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका सदस्य भेषराज आचार्यले वन मन्त्रालयविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । वन तथा वातावरण मन्त्री रामसहाय यादव, सचिव प्रेम कँडेल र सहसचिव शिव रेग्मीले आफ्नो मानवअधिकार हनन गरेको भन्दै आचार्यले आज आयोगमा उजुरी दिएका हुन ।
सार्वजनिक पद धारण गरी कार्यालयको काम सिलसिलामा कैलालीमा राष्ट्रिय गौरवको आयोजना सपलल पार्न कोरोना महामारी नभनी फिल्ड अनुगमनका लागि खटिएका बेला आचार्यलाई मन्त्रालयको स्पष्टिकरण पत्र नबुझेको भन्दै गोरखापत्र दैनिकमा नामै किटान गरी सार्वजनिक सूचना प्रकाशित गर्नुले आफ्नो चरित्र हत्या भएको र मन्त्रालय र राज्यका जिम्मेवार व्यक्तिहरुबाटै आफूमाथि अमानवीय कार्य भएको आचार्यको दावी छ ।
मन्त्रालयले पत्र पठाउँदा आचार्य फिल्ड अनुगमनका क्रममा कैलालीमा थिए । पत्र बुझेर पाँच दिनभित्र जवाफ दिन भनिएको थियो । तर कैलालीमा भएका आचार्यले पत्र नबुझेको भन्दै मन्त्रालयले भोलिपल्टै गोरखापत्रमा सार्वजनिक सूचना नै प्रकाशित गरेपछि आचार्यले आफ्नो मानमर्दन भएको, चरित्र हत्या भएको र मानवअधिकार उल्लंघन भएको भन्दै आयोगमा उजुरी दिएका हुन ।
आचार्यले फिल्डबाट फर्केपछि मन्त्रालयलाई स्पष्टिकरण पत्र बुझाइ सकेका छन् । उनले बुझाएको पत्रमा भनिएको छ – “म विकास समितिबाट भ्रमण आदेश लिई मिती २०७८।१०।०२ देखि २०७८।१०।०८ सम्म सुदुरपश्चिमको कैलाली र बांके जिल्लामा फिल्ड अनुगमनमा रहेको थिए । सोही समयमा बन तथा बातावरण मन्त्रालयबाट मिति २०७८।१०।०४ मा सफाई पेश गर्ने भनी पत्र काटिएको रहेछ । अर्काे दिनै अर्थात मिति २०७८।१०।०५ गतेको गोरखापत्रमा पत्र नबुझेको भनी सूचना निकालिएको रहेछ र सोही सूचनालाई पत्र प्राप्तिको आधार मान्न भनिएको रहेछ तर मेरो हकमा मैले पत्र नबुझेको होइन । कामको शिलसिलामा रातदिन नभनी म फिल्ड वर्कमा रहेकोले पत्र बुभm्न सम्भव नभएको विषय जानकारी गराउंछु । फिल्डको क्रममा यस समितिका लम्की इकाईका कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र मलाई पनि स्वास्थ्य अवस्था असहझ भएकाले मैले कोरोना परीक्षण गराउंदा मिति २०७८।१०।०९ गते मलाई पनि कोरोना पोजेटिभ देखिएको छ । यस्तो अवस्थामा आपm्नो मातहतको पधादीकारीलाई सहानुभूति, सान्त्वना, समभाव राखी हौसला प्रदान गर्नुको सट्टा मन्त्रालयबाटै पत्र नबुझको झुटो आरोप लगाउने, पदबाट बर्खास्त गर्न अनेक चलखेलमा उद्यत रहने कुराले मन्त्रीज्यू, सचिव, सहसचिव र सिंगो सरकारको सम्मान गिरेको छ, यस्तो महामारीमा पनि अमानवीय र निन्दनीय कार्य म माथि गरी राजनैतिक पूर्वाग्रहीता राखी अन्याय गरिएको छ । यस विषयमा मन्त्रालय र मन्त्रिपरिषद्को ध्यान जाओस् ।”
आचार्यले आयोगमा दिएको उजुरीमा आफूलाई समितिले फिल्डमा खटाएको पत्र, मन्त्रालयले स्पष्टिकरणका लागि पठाएको पत्र, गोरखा पत्रका निकालिएको सूचना, आफूलाई सरकारले पाँच वर्षका लागि गरेको नियुक्ति पत्रलगायतका कागजातसहित वनमन्त्री, सचिव र सहसचिवको नामै किटान गरी उजुरी दिएका छन् । आचार्यले आफूविरुद्ध भएको अन्याय, अत्याचार, चरित्रहत्या, मानहानी, मानवअधिकार उल्लंघन गर्नेविरुद्ध कानूनअनुसार कडा कारवाही गर्न माग गरेका छन् ।