काठमाडौं । एमाले नेता भीम रावलले आफ्नो पिएचडी नक्कली नभएको भन्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नै पिएचडी नक्कली हुन सक्ने जवाफ दिनुभएको छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर भट्टराई-रावल आरोपप्रत्यारोप चलेको छ । रावलले बाबुराम प्रधानमन्त्री भएकै बेला कसैसँग सल्लाह नै नगरी एमसीसीसँग पत्राचार गरी टोली गठन गरेको दाबी गरेपछि बाबुरामले रावलको पिएचडीमाथि नै प्रश्न उठाउनुभएको थियो ।
बाबुरामले लेख्नुभएको थियो, ‘यी @BhimRawal179 ले PhD गरेको भनेर नाउॅको अगाडि ‘डा.’ पनि झुण्ड्याउॅछन् । विद्यावारिधि गर्दा कसैवारे कुनै दावी गरियो भने त्यसको श्रोत, मिति, स्थान खुलाउनुपर्छ । उनले दावी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहॉ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली PhD हुन् ?’
त्यसको जवाफ दिँदै मंगलबार रावलले लेख्नुभएको छ, ‘बाबुरामजी प्रम हुँदा २०६८ मा चुपचाप एमसीसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु । त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्न सकिन्थ्यो तर जानकारीसम्म गराइएन । PhD नक्कली सीमापारि हुने गरेको सधैं चर्चा हुन्छ, त्रिविविबाट PhD कसैको नक्कली हुने चर्चा नै हुन्न ।’
स्मरण रहाेस् बाबुरामले भारतकाे जवाहारलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको हो ।