काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी कुल ५ हजार २९२ जना कोरोना संक्रमित थपिएका हुन् ।
हाल देशभरमा ७९ हजार २७२ सक्रिय संक्रमित छन् भने ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८२ हजार ६६८ पुगेको छ । यस्तै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ७४३ पुगेको छ भने ८ लाख ६२ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभरमा ७७ हजार ६६५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २८८ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्षमुनिका ७४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४८ जना कोरोना संक्रमित थपिएका छन् ।
त्यसैगरी काठमाडौं उपत्यकामा १ हजार ७७२ जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १,३६१, ललितपुरमा २७१ र भक्तपुरमा ९० जनामा कोरोना संक्रमण देखिएको छ ।