काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले कुल रकममध्ये ३८ दशमलव पाँच प्रतिशत रकमका बारेमा एमसीसी सम्झौता मौन बसेको बताउनुभएको छ ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता राष्ट्रहितविपरीत रहेकाले सदनबाट पारित गर्न नहुने भन्दै सोमबार पत्रकार सम्मेलन गरेर रावलले एमसीसी सम्झौतामा कुल रकमको ३८ दशमलव पाँच प्रतिशत केमा खर्च गर्ने भन्ने उल्लेख नगरेको बताउनुभयो ।
‘अमेरिकाले सहयोग गर्ने ५० करोड डलर र नेपाल सरकारले हाल्ने १३ करोड रकममध्ये ६१ दशमलव पाँच प्रतिशत रकम सडक र विद्युत् परियोजनामा खर्च गर्ने भनिएको छ,’ उहाँले भन्नुभयो, ‘बाँकी रकम केमा खर्च गर्ने ? यसबारे केही भनिएको छैन ।’
एमसीसी परियोजनाको रकमको बैंक ब्याजसमेत एमसीसीले लिन पाउने प्रावधान राखिएको भन्दै उहाँले परियोजनाका विषयमा एमसीसीको एकलौटी निर्णय लागू हुने बताउनुभयो ।
एमसीसी परियोजनाका विषयमा नेपाल सरकारले कुनै निर्देशनसमेत दिन नपाउने गरी भएको एमसीसी सम्झौता सदनबाट पारित गर्ने र लागू गर्न नहुने नेता रावलको जोड छ ।
एसमीसीले लागू भएमा नेपालले आत्मनिर्णयको अधिकार गुमाउने दाबी गर्नुभएका उहाँले देशमा भएका भ्रष्टाचार र अनियमितता रोक्ने, बेरुजु घटाउँदा एमसीसीबाट प्राप्त हुने रकम देशभित्रबाटै संकलन हुने दाबी गर्नुभयो ।
सभामुख अग्निप्रसाद सापकोटा, प्रमुख राजनीतिक दलका शीर्ष नेतासहित सबै सांसदहरूलाई एमसीसी पारित गर्न नहुने भन्दै रावलले स्मरणपत्र पठाएको जानकारी दिनुभयो ।