काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्न माग गर्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ ।
आइतबार अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न र समयमै निष्पक्ष निर्वाचन गर्न माग गर्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो ।
अनेरास्ववियुले माघ १७ गते देशभरिका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गराउने तथा देशैभरि अधिकतम २५ जनासम्म जम्मा भएर तत्काल निर्वाचन गर्नको निमित्त क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने, १८ गतेसम्म स्थानीय निर्वाचन घोषणा नगरे प्रतिकात्मक रूपमा प्रतिगामी सरकारका मन्त्रीहरू सहभागी कार्यक्रममा कालोझण्डा देखाउने र माघ १९ गते सघीय राजधानी (काठमाडौं) र प्रदेश राजधानीहरूमा कानूनविदहरुको उपस्थितिमा सडक बहस गर्ने तयारी गरेको छ ।
वर्तमान परमादेश सरकारले अप्राकृतिक सत्ता गठबन्धन गरेर देशलाई अँध्यारोतर्फ डो-याउन उद्यत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्थानीय तहलाई जननिर्वाचित प्रतिनिधिरहित बनाउने अभिप्रायका साथ स्थानीय तहको निर्वाचनलाई संवैधानिक व्यवस्थाको बर्खिलाप हुने गरी टार्ने प्रपञ्च गरेको आरोप लगाएको छ ।
पटक-पटक स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न गरिरहेको आग्रहलाई लत्याएको भन्दै लाखौँ विद्यार्थीहरुलाई विधिको शासन र कानूनको सर्वोच्चता स्थापित गराउने लडाइँमा पुनः एक पटक सडकमा उत्रन आह्वान गरिएको छ ।