बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आगामी बुद्ध जयन्तीअघि नै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने बताउनुभएको छ ।
विमानस्थलको निरीक्षणका क्रममा शनिबार भैरहवा आउनुभएका मन्त्री आलेले नागरिक उड्डयन प्राधिकरणका अधिकारी र मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै यस्तो बताउनुभएको हो । ‘अव विमानस्थल सञ्चालनमा कुनै विलम्ब हुनुहुँदैन, बुद्ध जयन्ती अगावै नै विमानस्थल सञ्चालनमा ल्याइने छ,’ उहाँले भन्नुभयो ।
निर्माण सुरु भएको सात वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग पूरा भएको छ । विमानस्थलमा पूर्वाधार निर्माण तथा उपकरण जडान सकिएको र केही प्राविधिक काम भइरहेको छ । विमानस्थल निरीक्षणका क्रममा मन्त्री आलेसहित मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर, राष्ट्रिय गौरव आयोजनाका निर्देशक, उपनिर्देशकलगायतको टोली आएको थियो ।
उहाँले बुद्ध जयन्ती अगाडि नै विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिनुभयो । ‘म यहीँबाट निर्देशन दिन्छु, विमानस्थल शीघ्र सञ्चालनमा आओस्, बुद्ध जयन्ती अगाडि नै नागरिकले विमानस्थल सञ्चालनमा आएको देख्न पाउन्’, मन्त्री आलेले भन्नुभयो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल विद्यमान रहेको एअर ट्राफिकको समस्या समाधान हुने पनि उहाँको दाबी छ ।
विमानस्थल निरीक्षणपछि प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले आगामी फागुन ९ गते परीक्षण उडानको कार्यतालिका बनाइएको जानकारी दिनुभयो । ‘मौसमले साथ दिएमा आउँदो फागुन ९ गते थाइल्याण्डदेखि नेपालमा विमान अवतरण हुनेगरी कार्यतालिका बनाइएको छ,’ उहाँले भन्नुभयो । ठाकुरले आउँदो बुद्ध जयन्तीका दिन चार्टड विमानमा लुम्बिनीमा पाहुना ल्याउने गरी विमानस्थल सञ्चालनको योजना बनाइएको पनि बताउनुभयो ।
परीक्षण उडानका लागि विमानसहित मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने लगायतका निर्माण कार्यको ठेक्का लिएको थाइल्यान्डको एरो थाइ कम्पनीका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले एरो थाइ कम्पनीका तर्फबाट विमानस्थलमा जडान गरिएका उपकरण र ग्राउन्ड चेकको कार्य भइरहेको बताउनुभएको थियो ।
विमानस्थल निर्माण आयोजनाअन्तर्गत आइसिबी टु को ठेक्का थाइल्यान्डको एरो थाइ कम्पनीले लिएको छ । आइसिबी टु अन्तर्गत मौसम, सञ्चार, विमानको दिशा पत्ता लगाउने संयन्त्रको निर्माण पर्छ । परीक्षण उडानको तयारीस्वरुप थाइल्याण्डबाट चारजना प्राविधिकको टोली भैरहवा आइपुगेको छ ।
अहिले ग्राउण्ड टेस्टको काम सुरु भएको छ । फागुनमा परीक्षण उडानका लागि जहाज आउने विमानस्थल निर्माण आयोजना आइसिबी टु का प्रमुख तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रवीण न्यौपानेले बताउनुभयो ।