काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताउनुभएको छ ।
बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमालेले एक सिट मात्र जित्ता बाँकी सत्ता गठबन्धनले हात पारेकाे थियाे । रिमालले बिहीबार सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ सकियो । चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई ।’
उहाँले अहिलेकाे राष्ट्रियसभा निर्वाचन पुरानाे जनमत रहेकाे उल्लेख गर्दै आगामी स्थानीय प्रदेश र संघीय निर्वाचन नै ‘रियल’ हुने बताउनुभएको छ ।
‘अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ । स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिंगाे गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानावाजी गर्दैछन् । संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संबिधान च्यात्ने धुनमा उनीहरु छन्,’ उहाँले भन्नुभएको छ ।