काठमाडौँ । पाँचदलीय गठबन्धनको बलियो घेराबन्दीबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभामा एक सिट जितेर गठबन्धनको क्लिन स्वीप गर्ने सपना चकनाचुर भएको छ । गठबन्धनको घेराबन्दीबीच एमालेले जित हात पार्नु नै एमाले एक्लै दर्बिलो छ भन्ने कुराको पुष्टि भएको छ ।
१९ सांसदको चार वर्षे कार्यकाल सकिएपछि बुधबार भएको मतदानमा एमालेले प्रदेश १ बाहेक अन्य ६ प्रदेशमा भने ७ सिट गुमाए पनि दर्बिलो रहेको प्रमाण पेश गरेको छ ।
राष्ट्रियसभामा अहिले एमालेको २४ सिट छ। तर सात सिट गुमाउँदा पनि ऊ पहिलो दलमै कायम रहने पक्का भएको छ।
राष्ट्रियसभा अध्यक्षसहित नेकपा एमालेका १८, माओवादी केन्द्रका १५, नेपाली कांग्रेसका १०, नेकपा एकीकृत समाजवादीका ८, जनता समाजवादी पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टीका १ र राष्ट्रिय जनमोर्चा नेपालका १ सांसद कायम भएका छन् ।
अब राष्ट्रपतिले माओवादीका रामनाराययण बिडारीको स्थानमा एकजना मनोनीत गर्न बाँकी छ ।
वामदेव गौतम र डा. खिमलाल देवकोटा स्वतन्त्र हैसियतमा छन् । तीमध्ये चार वर्षे कार्यकाल पूरा गरेका १९ सदस्यका लागि बुधबार मतदान भएको थियो । सात प्रदेशमा सात महिला, तीन दलित, दुई अपांगता तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सदस्यका लागि ४३ जना प्रतिस्पर्धामा थिए।
जसमा एमालेबाट प्रदेश १ मा अल्पसंख्यकतर्फ सोनम ग्याल्जेन शेर्पा विजयी भए । यससँगै गठबन्धनले यो निर्वाचनमा एमालेलाई क्लिन स्विप गर्न बनाएको योजना पनि विफल भएको छ।
राष्ट्रिय सभा निर्वाचनमा ७ सदस्य गुमाएर पनि एमाले पहिलो दलमै कायम छ । नेकपा भंग र एमाले पनि विभाजित हुँदा २४ सदस्यसहित एमाले पहिलो दल नै थियो ।
एमालेलाई पहिलो दलमा रोक्न बनाइएको कांग्रेस नेतृत्वको गठबन्धनको प्रयास प्रदेश १ मा सफल भएन । जसकारण सात सिट गुमाएर पनि एमाले १७ सदस्यसहित पहिलो दलमै कायम रहेको छ।
निर्वाचनमा नेपाली कांग्रेससहितको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको छ।
एमालेले गुमाएको सात सदस्यमा नेपाली कांग्रेसले तीन, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समान १–१ र जसपाले १ सदस्य जितेका छन् । सात सिट गुमाए पनि राष्ट्रियसभामा एमालेका १७ सदस्य बाँकी छन् । तर, एकैपटक सात सदस्य गुमाएर पनि राष्ट्रिय सभामा एमाले नै पहिलो दल बनेको हो ।