काठमाडौं । राष्ट्रियसभामा रिक्त १९ पदको लागि बुधबार बिहान ९ बजेदेखि सातै प्रदेशमा मतदान जारी रहेको छ । सात प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली काँग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदै छ । उक्त रिक्त स्थानका लागि निर्वाचन भएको हो ।
यसैबीच मधेश प्रदेशमा निर्वाचनकै दौरान पटक–पटक झडप भएको छ । मधेश प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच पटक–पटक झडप भएको हो । जनमत पार्टीका कार्यकर्ताहरुले प्रदेश सभा सदस्य मनिष सुमन तथा सर्लाहीको हरिवन नगरपालिकाका मेयर र उपमेयर सवार गाडी तोडफोड गरेका छन् । सो क्रममा सुमन र मेयर गणेश प्रसाईं सामान्य घाइते भएका छन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना यादव सवार गाडीमा पनि रामानन्द चोकमा तोडफोड भएको छ । गाडी चालक लक्ष्मी कुमार यादव घाइते भएका छन् ।
किसानका मुद्दा उठाउँदै जिल्लामा गतिविधि गर्दै आएका उनीहरुले आजनिर्वाचनको दिन बिहानैदेखि जनकपुरधामका चोकचोकमा टायर बालेर प्रदर्शन गर्दै आएका थिए । निर्वाचनस्थलमा समेत प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।
त्यस्तै बागमती प्रदेशमा पनि केहीबेर तनावको स्थिति देखियो । प्रदेशसभामा माओवादी केन्द्रबाट समानुपातिक सांसद रहेकी हिमाली गोलेले आफूले मतदान गरेको तस्वीर आफैंले खिचेपछि तनाव भएको हो ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उनलाई तस्वीर नखिच्न र खिचेको तस्वीर पनि हटाउन भनेपछि भनाभन भएको थियो । त्यही बेला माओवादी केन्द्रका अर्का प्रदेशसभा सदस्य राजकाजी महर्जनले पनि श्रेष्ठसँग बाझेका थिए ।
श्रेष्ठले आफूले बनाएको कानून आफैंले उल्लंघन नगर्न भनेका थिए भने प्रदेशसभा सदस्यहरुले अपराध गरेजस्तो व्यवहार गरेको भन्दै प्रतिवाद गरेका थिए । त्यही बेला धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।
हेटौंडा–८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा मतदान बिहान ९ बजे सुरु हुने भनिएको मतदान पानी परेका कारण निर्धारित समयभन्दा ४० मिनेट ढिलो सुरु भएको थियो । त्यही बेला फोटो खिचेको विषयको विवादले फेरि पनि केहीबेर मतदान रोकिएको थियो ।
यसैबीच मतदानको मतपरिणाम आजै राती १० बजेसम्म सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगले गरेको आयोगका प्रवक्ता शालिग्रम शर्मा पौडेलले जानकारी दिएका छन् ।
कुनै बाधा आएन भने राष्ट्रियसभा निर्वाचनको मतपरिणाम आजै राति १० बजेसम्म आउने आयोगले अपेक्षा गरेको उनले बताए । साथै मतगणनको व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई नै जिम्मा दिइएको पौडेलले बताए ।