काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनको दुई दिनपछि १५ बुँदे असहमति व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले आइतबार विज्ञप्तिमार्फत सरकार असफल दिशामा उन्मुख भएको आरोपसमेत लगाउनुभएको छ ।
उहाँले वर्तमान सरकार देशलाई अस्थिरतातर्फ लैजान उद्यत रहेको बताउँदै स्थानीय तहको निर्वाचन धकेल्न सरकारले अनेक प्रयास गरिरहेको उल्लेख गर्नुभएको छ । संविधानले स्थानीय तहको म्याद सकिनुभन्दा दुई महिनाअगावै निर्वाचन गराउनुपर्ने कानुनी व्यवस्था गरे पनि सरकार संविधानको धारा २५५ को भ्रमपूर्ण व्याख्या गरेर उम्कन खोजेको अध्यक्ष ओलीको आरोप छ ।
१५ बुँदा लामो वक्तव्यमा अध्यक्ष ओलीले सरकार कोरोना महामारी नियन्त्रण, सुशासन कायम गर्न र कानुनी राज्य स्थापना गर्न असफल भएको बताउनुभयो । राज्यका तीनवटै निकाय संकट अवस्थामा रहेको उहाँको भनाइ छ । देशको आर्थिक अवस्था संकट अवस्थामा रहेको भन्दै आर्थिक परिसूचक सबै ओरालो लागेको दाबी पनि उहाँले गर्नुभयो । उहाँले अघिल्लो सरकारले ल्याएका लोकप्रिय कार्यक्रमलाई वर्तमान सरकारले विस्थापन गरी नयाँ कार्यक्रम घोषणा गरे पनि सबै असफल बनेको उल्लेख गर्नुभयो ।