काठमाडौं । पाँचदलीय गठबन्धनको टेकोमा अडिएको देउवा सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले गत बुधबार रौतहटमा दिएको आपत्तिजनक तथा विवादास्पद अभिव्यक्तिले मन्त्री यादवको त चौतर्फी विरोध भएकै छ त्यसले देउवा सरकारको आलोचना तीव्र बनेको छ । मन्त्री यादवको सो अभिव्यक्ति आपत्तिजनक र पदीय आचरणविपरीत भएको भन्दै मन्त्री पदबाट बर्खास्त गर्न देउवा सरकारलाई सम्पूर्ण तह र तप्काबाट दबाब परेको छ । तथापि पाँचदलीय टेकोको कमजोर धरातलमा अडिएको देउवा सरकार कारबाही गर्न खुट्टा लगलग कमाएको कमाएकै छ ।
उता सत्तारूढ दलको एक घटक जनता समाजवादी पार्टीमा मन्त्री यादवकै अभिव्यक्तिले विवाद चर्किएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता डा. बाबुराम भट्टराईको टकरावले पार्टीभित्र अन्तरसंघर्ष चलिरहेको बेला मन्त्री यादवको पछिल्लो अभिव्यक्तिले थप विवाद सृजना भएको हो ।
मधेश बलिदान दिवसको अवसरमा जनता समाजवादी पार्टी जसपाले रौतहटमा गरेको कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर घटना दोहोरिने धम्की दिएकी थिइन् । उक्त अभिव्यक्तिलाई लिएर सर्वत्र विरोध भइरहेको छ । मन्त्रीबाट बर्खास्त गर्नुपर्ने मागसमेत उठिरहेको छ ।
उक्त अभिव्यक्तिलाई लिएर पार्टीभित्र वरिष्ठ नेता डा. भट्टराई र उहाँ पक्षीय नेताहरूले मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन् । वरिष्ठ नेता डा. भट्टराईले मन्त्री रेणु यादवको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै पार्टीले उहाँको बचाउ गर्न नसक्ने बताए । जिम्मेवार पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिनु जो कसैका लागि पनि शोभनीय नहुने उनको भनाइ थियो । त्यसैले मन्त्री रेणु यादवलाई मन्त्रीबाट पदमुक्त गर्न अध्यक्ष यादवलाई सुझाव दिएका छन् ।
रेणु यादवले अर्को गौर नरसंहार मच्चाउने भनी दिएको अभिव्यक्तिले जसपाभित्र अध्यक्ष यादव दबाबमा छन् । तर उनले मन्त्री यादवलाई कारबाही गर्नेबारे छलफल भने सुरु गर्न सकेका छैनन् ।
मन्त्री यादवको अभिव्यक्तिप्रति सर्वत्र विरोध भइरहेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विवादास्पद अभिव्यक्ति दिने मन्त्री यादवलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ । हिंसा भड्काउने अभिव्यक्ति दिँदासमेत सरकार र सत्तारूढ गठबन्धन मौन बसेको भन्दै एमालेले मौनता शंकास्पद भएको टिप्पणी गरेको छ ।
सत्तारूढ गठबन्धनका नेताहरूले पनि मन्त्री यादवको अभिव्यक्तिको चर्को विरोध गरेका छन् । गौर नरसंहार दोहो-याउने मन्त्री रेणु यादवको सार्वजनिक अभिव्यक्तिप्रति सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि आपत्ति प्रकट गरेका छन् ।
महामन्त्री शर्माले राज्यको जिम्मेवारी पदमा बस्ने व्यक्तिको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपमा बढी जिम्मेवार हुनुपर्ने भन्दै हिंसा भड्काउने अभिव्यक्ति जोसुकैबाट आए पनि स्वीकार्य नहुने बताए । विगतका हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्ने र त्यसलाई रोमान्सको अभिव्यक्ति बनाउन नहुने महामन्त्री शर्माको भनाइ छ ।
महामन्त्री शर्माले विवादित अभिव्यक्ति दिने मन्त्री यादवले भूल स्वीकार गरी क्षमायाचना गर्नुपर्ने, सम्बन्धित दलले पहलकदमी लिएर राजीनामा गराउनुपर्ने र पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएको ठहर गर्दै प्रधानमन्त्रीले मन्त्री यादवलाई पदमुक्त गर्नुपर्ने तीन विकल्प दिएका छन् ।
सत्तारूढ गठबन्धनको अर्को घटक राष्ट्रिय जनमोर्चाले पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको अभिव्यक्तिको विरोध गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गरी व्यक्ति मन्त्री यादवको अभिव्यक्तिको विरोध गरेका हुन् । विज्ञप्तिमा भनिएको छ ‘सिके राउतको हत्या गर्नेसम्बन्धी दिएको अभिव्यक्तिप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ, राष्ट्रिय जनमोर्चाले व्यक्ति हत्याको राजनीतिलाई सही मान्दैन ।’ विज्ञप्तिमा सरकारको जिम्मेवार मन्त्रीले त्यस्तो अभिव्यक्ति दिनु गलत रहेको भन्दै तत्काल पदमुक्त गर्नुपर्ने बताएको छ ।