काठमाडौँ । स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्न माग गरिएको छ । जनप्रतिनिधिहरूको तीन संस्थाले यस्तो माग गरेका हुन् ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले आज संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल स्थानीय तहको निर्वाचन प्रक्रिया सुरू गर्नुपर्ने उल्लेख गरेका हुन् ।
ती संगठनहरूले संविधान र स्थानीय तह निर्वाचन ऐनले एक दिन पनि जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेको भन्दै नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । जेठभित्र स्थानीय तहको निर्वाचन गरिसक्न संगठनहरूको माग रहेको छ ।
गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठ र जिसस महासंघ अध्यक्ष नवराज गेलालले आज निकालेको संयुक्त विज्ञप्तिमा तोकिएको समयमा नै आवधिक निर्वाचन गरिनुपर्ने उल्लेख गरिएको छ ।
संगठनद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको ५- ‘निर्वाचनको वातावरण सिर्जना गर्न निर्वाचन आयोग र सबै राजनीतिक दलहरूको समेत गम्भीर ध्यानाकर्षण गर्दछौं ।’ समयमा नै निर्वाचन होस् र एक दिन पनि स्थानीय सरकार जनप्रतिनिधिविहीन नहोस् भन्ने जोडदार माग उनीहरूले गरेका छन् ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी गरिरहेको छ । तर देउवा सरकारले निर्वाचन मिति घोषणा गरेको छैन ।
स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सकिन लागेको छ ।