खाँदबारी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि, विकास र राष्ट्रियताको पहरेदारीका लागि आफ्नो पार्टी निर्विकल्प भएको जिकिर गर्दै अन्य पार्टीमा रहेका नेता–कार्यकर्तालाई एमालेमा सामेल हुन आग्रह गर्नुभएको छ ।
सङ्खुवासभाको खाँदबारीमा आयोजित एमालेको आठौँ जिल्ला अधिवेशनको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले अन्य पार्टीमा रहेर त्यहाँको विचार र व्यवहारको परीक्षण गरेर एमालेमा प्रवेश गर्नेलाई नवप्रवेशीलाई कहिल्यै पश्चाताप नहुने ठोकुवा गर्नुभयो । “अब कोही पनि अल्मलिइरहनु पर्दैन । आउनुस्, एमालेमा हामी स्वागत गर्न चाहान्छौँ । एमाले मात्रै देशमा सामाजिक न्याय, समानता र परिवर्तन दिन सक्ने पार्टी हो ।” अध्यक्ष आलीले भन्नुभयो, “नेपालमा लोकतान्त्रिक आन्दोलन ध्वस्त भएमा बेलामा हामीले सानो शक्तिबाट झापा विद्रोहका नाममा सङ्घर्षको विगुल फुकेका थियौँ ।”
अहिले आफूहरू जनतालाई अधिकार र सेवा दिन सक्ने हैसियतामा रहेको बताउँदै उहाँले भन्नुभयो, “हामी फेरि जनादेशबाट सरकारको नेतृत्वमा पुग्नेछौँ ।” अध्यक्ष ओलीले समयमा स्थानीय तहको निर्वाचन नगराएर ती तहलाई जनप्रतिनिधि बनाएर कर्मचारीको भरमा चलाउने षड्यन्त्र गरेको आरोप लगाउँदै देशलाई स्वाभिमानपूर्वक सुशासन र विकासको बाटोबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन जनताले पुनः एमालेलाई सरकारको नेतृत्वमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले खाँदबारी—किमाथाङ्का सडकको बाँकी १४ किलोमिटर बाटो बनाउन आफ्नो नेतृत्वको सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएको र विराटनगरदेखि किमाथाङ्कासम्म चल्ने अन्तर्राष्ट्रियस्तरको मार्ग चाँडै खुल्ने जनाउनुभयो । सङ्खुवासभामा रहेको ९०० मेघावाट क्षमताको अरुण—३ जलविद्युत आयोजनाको आफूले प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेको र जिल्लालाई यहाँका उत्पादन र रोजगारीको सम्भावनालाई उजागर गर्ने एमालेको अवधारणा रहेको बताउनुभयो ।
जिल्लामा विदुषी योगमाया आयुर्वेदिक विश्वविद्यालय खोल्न आफूले थालनी गरेको र त्यसले नेपालको आयुर्वेदिक चिकित्सा प्रणालीलाई विश्व सामु चिनाउन समर्थ हुने बताउनुभयो । शिक्षा तथा स्वास्थ्य पर्यटन, औषधालय र कृषि उत्पादन आदि क्षेत्रमा सङ्खुवासभा प्रचुर सम्भावनायुक्त जिल्ला भएकाले ती सम्भावनालाई उजिल्याउन एमाले नेतृत्वको सरकार बन्नुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले एमालेको काँधमा रहेको देश बनाउने अभिभारा पूरा गर्न नदिने बाधा—व्यवधान पन्छ्याउने गरी सहमतिमा आधारमा जिल्ला अधिवेशन सम्पन्न गराउन आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले लोकतन्त्रको नाममा शासन स्थापना गर्ने र लुटपाट गर्ने पार्टी एमाले नरहेको बताउनु भएको छ । उहाँले वामपन्थी र कम्युनिस्टको खोल ओढेर प्रतिक्रियावादी काम गर्ने, दक्षिण पन्थीको सेवामा समर्पित हुने, पार्टी फुटाउने, कम्युनिस्ट सरकार ढाल्नेहरु नक्कली वामपन्थी कम्युनिस्ट पार्टी भएको बताउनुभयो । उहाँले आडम्बरी वामपन्थीको पार्टीमा नबस्न र नेकपा एमालेमा आउन समेत आग्रह गर्नुभयो । देशमा उन्नति प्रगति चाहने पार्टी एमाले मात्रै रहेको बताउनुभयो ।
उहाँले ५१-५२ वर्ष अगाडी वामपन्थी आन्दोलन ध्वस्त भएको बेलामा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि बिगुल फुकेका थियौँ र आज हामीले सबल शक्तिको रूपमा एमालेलाई उठाउन सफल भएको बताउनुभयो ।
उहाँले एमाले सरकारमा पुगेर काम गर्छ भनेर थाहा भएर जान नदिन धेरै प्रयास भएको बताउनुभयो । थुप्रै दुष्प्रयासहरूलाई असफल पार्दै हामीले एमालेलाई सरकारमा पुर्यायौ उहाँले भन्नुभयो ।
एमालेको सरकार हुँदा आफ्नो गाउँ आफै बनाऊ, ज्येष्ठ नागरिक भत्ता, प्रहरी, कर्मचारी, सिपाहीलाई श्रेणीमा उठाएको स्मरण समेत गराउनुभयो । अध्यक्ष ओलीले सांसदबाट सरकार नबन्ने भएपछि अदालतको परमादेशबाट अहिलेको सरकार बनेको बताउनुभयो ।
ओलीले नेकपा एमालेको सरकारको बेला विश्व बैङ्क, युनेस्को , विश्व स्वस्थ सङ्गठनले समेत प्रशंसा गरेको बताउनुभएको थियो ।
उहाँले षडयन्त्र सधैँ काम लाग्दैन र जनता सर्वशक्तिमान् भएको बताउनुभयो । उहाँले फागुनमा गर्ने स्थानीय निर्वाचन नगरेर यो सरकार लुट मार्न लागेको र कर्मचारीबाट चलाउने षडयन्त्र गरेको बताउनु भएको छ ।
उहाँले देशबाट गरिबी र पछौटे पन हटाउनका लागि नेकपा एमालेलाई साथ दिन समेत आग्रह गर्नुभयो ।
सो अवसरमा वडाध्यक्षसहित विभिन्न पार्टीबाट एमालेका प्रवेश गराइएको छ । प्रवेश गर्नेमा नेकपा (माओवादी केन्द्र) का जिल्ला सदस्य एवं चैनपुर नगरपालिका—८ का वडाध्यक्ष भरत खड्का, माओवादीका जिल्ला सदस्य सोमबहादुर जिमी, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य सुरेन्द्र्र खत्री, नेपाली कांग्रेसका जिल्ला नेता भीमबहादुर जिमी, राप्रपाको चैनपुर नगर कमिटीका अध्यक्ष ललित राईलगायत करिब दुई हजार ५०० हुनुहुन्छ । उहाँहरूलाई अध्यक्ष ओलीले माला र टीका लगाएर पार्टी प्रवेश गराउनुभयो ।