कठमाडौं । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ युनिफिल्ड मिसन (लेबनान) मा तैनाथ नेपाली सेनाको श्री बर्द बहादुर गण सर्वोत्कृष्ट भएको छ।
उक्त मिशनमा तैनाथ अन्य १० राष्ट्रका सेनामध्ये बर्द बहादुर गणको ६२ औँ डफ्फा सर्वोत्कृष्ट भएको हो ।
त्यहाँ कार्यरत नेपाली शान्ति सैनिकहरुले आफ्नो जिम्मेवारी इलाकामा गरेका उत्कृष्ट योगदानको कदरस्वरुप युनिफिल्ड हेड मिसन कमाण्डर मेजर जनरल स्टेफेनो डेल कोलले पुस २२ गते फोर्स हेडक्वार्टर, नाकुरामा आयोजित एक विशेष कार्यक्रमबीच उक्त गणका गणपतिलाई उत्कृष्टताको प्रतीक तथा प्रशंसा-पत्र प्रदान गरेको नेपाली सेनाले जनाएको छ।
उक्त गणले मिशन ईलाकामा तैनाथ भएदेखि नै कोभिड-१९ को मार खेपिरहेको आफ्नो जिम्मेवारी क्षेत्रको आठवटै पालिकामा कोभिड किट वितरण तथा विभिन्न समयमा नगरपालिकामा वृक्षारोपण, ऐतिहासिक किल्लासंरक्षण र सम्वर्द्धन, गुणस्तरीय डेण्टल सेवा, विद्यालयमा स्टेशनरी वितरणलाई प्रभावकारी बनाएको थियो।
गणले महिला स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रम, सार्वजनिक पार्क तथा बगैँचाहरुको मर्मत सम्भार जस्ता जनहितका कार्यक्रम संचालन गर्नुका साथै स्थानीय व्लिदा नगरपालिकामा सेनाको ठूलो लगानीमा ‘कृषि पोखरी तथा सार्वजनिक बगैँचा’ निर्माण पनि गरेको थियो।
त्यस्र्त उक्त गणले लेवनान र इजरायलको सीमा क्षेत्रमा फैलिएको जैतुन खेतीको बाली भित्र्याउँदा सम्भावित जोखिमलाई कम गर्न स्थानीय निकाय, लेवनानी सशस्त्र बल तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेको थियो। त्यसक्रममा मिशनको इतिहासमै पहिलो पटक जैतुन बाली भित्राउँदा नेपाली सेनाले कुनै तनावपूर्ण अवस्था आउन नदिइ सुरक्षित र शान्तिपूर्ण रुपमा सम्पन्न गरेको सेनाले जनाएको छ ।