काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले नेपाली भूमि लिपुलेकमा भारतीय पक्षबाट भएको अतिक्रमणबारे नबोल्ने देउवा सरकारको चरित्र लज्जास्पद भएको टिप्पणी गर्नुभएको छ । उहाँले लिपुलेकमा सडक विस्तार अघि बढाउनेबारे भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिमा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाउनुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडक अघि बढाउने सार्वजनिक अभिव्यक्ति दिँदा नेपाल सरकार किन मौन बसेको भन्दै उहाँले प्रश्न गर्नुभएको छ ।
सामाजिक सञ्जालमा आइतबार राति ट्वीट गर्दै नेता रावलले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएको अकाट्य प्रमाण रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले एमसीसी सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवाले वार्ता गर्ने तर देशको भूभाग अतिक्रमण परेकोबारे कुरा नगरेको भन्दै लज्जास्पद चरित्रको संज्ञा दिनुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘नेपालको लिपुलेकमा सडक अघि बढाउने भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक भनाइमा नेपाल सरकार किन मौन ? लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएको अकाट्य प्रमाण छन् । एमसीसी सम्झौताबारे देउवा वार्ता गर्ने तर देशको भूभाग अतिक्रमणमा परेकोबारे कुरा नगर्ने, लज्जास्पद चरित्र !’