झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले नारायणहिटी कप्लक्कै खाइसकेको आरोप लगाउनुभएको छ । उहाँले वर्तमान सरकार नारायणहिटी प्रकरणमा नक्कली ज्वाइँ खडा गरी आफ्नो भ्रष्टाचार लुगाउन लागिपरिरहेको बताउनुभयो ।
गृहजिल्ला झापा आउनुभएका ओलीले राष्ट्रसेवक सहकारी संस्थाको कार्यक्रममा यस्तो बताउनुभएको हो । उहाँले नारायणहिटी संग्रहालयमा क्याफे संचालनसम्बन्धी ठेक्का पाएको बतास समूहलाई सरकारकै संरक्षण रहेको भन्दै उहाँले सरकार अहिले आफ्नो भ्रष्टाचार छोप्न बतासलाई मिडियाबाट केपी ओलीको ज्वाइँ बनाउन खोजिरहेको बताउनुभयो ।
ओलीले भन्नुभयो,‘अहिले संचारमाध्यम बोलाएर, फोटो खिच्न लाएर केपी ओलीको ज्वाइँ भन्न लगाइरहेका छन् । मेरा त छोरी देशभरि छन्, छोरीसँग बिहे गर्ने जति सबै ज्वाइँ हुने भए । छोरासँग बिहे गर्नेजति सबै बुहारी । यस्ता कुरा लिएर आफ्नो भ्रष्टाचार छोप्न खोज्दैछ देउवा सरकार ।’ उहाँले भ्रष्टाचारलाई सबैले घृणा गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले मानिस कुनै न कुनै राजनीतिक विचारबाट प्रेरित हुने गरेको बताउँदै कर्मचारी पनि त्यसबाट भिन्न नरहेको उल्लेख गर्नुभयो । उहाँले कर्मचारीको हकहितका लागि लोकतान्त्रिक मान्यतालाई संरक्षण र सम्बद्र्धन गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “काम गर्ने बेलामा कर्मचारीले निरपेक्ष भएर जनताको काम गर्नुपर्छ, कर्मचारी संयन्त्र जनताको सेवा गर्ने संयन्त्र हो ।” उहाँले चुनावमा निष्पक्ष रुपमा काम गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह समेत गर्नुभयो ।
अध्यक्ष ओलीले राजनीतिक परिवर्तनमा कर्मचारीको योगदान उच्च रहेको उल्लेख गर्दै लोकतन्त्र खोसिएको अवस्थामा कर्मचारी सङ्कट मोचनमा अग्रसर भएको बताउनुभयो ।