काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको हालै सम्पन्न १०औँ अधिवेशनको अध्ययनबिना नै टिकाटिप्पणी भइरहेको बताउनुभएको छ ।
पार्टीको जिल्ला अधिवेशनको भर्चुअलमार्फत् संयुक्त रुपमा उद्घाटन गर्दै उहाँले एमाले अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको बताउनुभएको हो ।
एमालेविरुद्ध हल्ला फिँजाइएको भन्दै उहाँले भ्रममा नपर्न कार्यकर्ता र आममानिसलाई आग्रह गर्नुभयो । गठबन्धन र नेकपा (एकीकृत समाजवादी)प्रति खरो टिप्पणी गर्दै अध्यक्ष ओलीले गठबन्धनलाई प्रतिमगनको संज्ञा दिनुभयो ।
एमालेसँग अहिले पनि जनमत बढी रहेको दाबी गर्दै उहाँले एकातिर अरु पार्टी र अर्काेतिर एमाले राख्दा पनि एमाले शक्तिशाली रहेको बताउनुभयो ।
आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको उहाँको भनाइ छ । उहाँले आफूहरूसँग जनताको साथ रहेको बताउनुभयो । एमालेसँग जनताको साथ रहेकाले आगागी निर्वाचनमा पहिलो राजनीतिक दल बनेर सरकार बनाउने उहाँको भनाई छ ।
‘हामीलाई जनताको कवच प्राप्त छ’, उहाँँले भन्नुभयो, ‘हामी चुनावको प्रतिक्षामा छौँ । त्यसपछि हामी शक्तिशाली भएर सरकार बनाउने छौँ ।’
शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामीको सरकारको संज्ञा दिँदै उहाँले पाँचमुख भएका सरकारले तुइन काटेर जनतालाई नदीमा खसाल्दा पनि बोल्न नसकेको आरोप लगाउनुभयो ।
राज्यका सबै अंग आ–आफ्नो मर्यादामा बस्नुपर्नेमा जोड दिँदै उहाँले सरकार जनताको पक्षमा नरहेको बताउनुभयो । जनताको आदेशविना अन्यत्रबाट सरकार बनेको भन्दै ओलीले भन्नुभयो, ‘सरकार बन्यो संसदले समेत पनि थाहा पाएन ।’
उहाँले सर्वाेच्च अदालतले दिएको आदेशप्रति खरो टिप्पणी गर्नुभयो ।