खोटाङ । एमाले खोटाङले जिल्ला अधिवेशनको सन्दर्भमा फरक पार्टीका नेताको भिडियो शुभकामना लिएको छ ।
शुक्रबार हुने सातौं जिल्ला अधिवेशनका लागि एमालेले कांग्रेस र जनता समाजवादी पार्टीका नेताको भिडियो शुभकामना सन्देश लिएका हो । कांग्रेस जिल्ला सभापति विष्णुकुमार राई र जनता समाजवादी पार्टीका अध्यक्ष टंक थापाको रेकर्ड गरिएको भिडियो शुभकामना सन्देश एमाले खोटाङको फेसबुक पेजमा राखिएको छ ।
फरक पार्टीका नेतालाई जिल्ला अधिवेशनमा कार्यक्रममा बोलाएर शुभकामना मन्तव्यका लागि स्थान दिइने प्रचलन रहेकामा एमाले सातौं जिल्ला अधिवेशन प्रचार–प्रसार विभागको पहलमा फरक पार्टीका नेताको भिडियो शुभकामना रेकर्ड गरेर फेसबुक र पेजमा राखिएको हो । फरक पार्टीप्रतिको विचारलाई सम्मान गर्दै सहिष्णुता र भाइचाराका लागि अन्य पार्टीको नेताको भिडियो शुभकामना रेकर्ड गरेर फेसबुक र पेजमा राखिएको एमाले खोटाङका सचिवालय सदस्य एवं सातौं जिल्ला अधिवेशन प्रचार-प्रसार विभाग प्रमुख दिलचक्र राईले बताए ।
अधिवेशन प्रचार-प्रसार विभागले एमालेको जिल्लादेखि केन्द्रीय कमिटिका नेताको भिडियो शुभकामना रेकर्ड गरेर फेसबुक र पेजमा राखेको छ । फेसबुक र पेजमा कांग्रेस र जनता समाजवादीबाहेकका दलका प्रमुखको भिडियो शुभकामना सन्देश भने राखिएका छैनन् ।
एमाले खोटाङको सातौं जिल्ला अधिवेशन शुक्रबार बिहान ११ बजे सुरु हुँदै छ । एमाले अध्यक्ष केपी ओलीले मुलुकभरको जिल्ला अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गरेसँगै जिल्ला अधिवेशन उद्घाटन हुने छ । दिक्तेलको माटिकोरेस्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा सम्पन्न हुने अधिवेशनले सर्वसहमतिमा नेतृत्व चयन गर्ने एमालेले जनाएको छ ।
जिल्ला अधिवेशनमा वडा, गाउँपालिका, नगरपालिका कमिटी, सल्लाहकार परिषद, कम्युनिष्ट मञ्च, खोटाङ-काठमाडाैं सम्पर्क मञ्च, जनसंगठन, अल्पसंख्यक, सीमान्तकृत, फरक क्षमता र लैंगिक अल्पसंख्यकबाट एक हजार प्रतिनिधिको सहभागीता रहने एमाले अध्यक्ष रामप्रसाद दंगालले बताए ।