पाँचथर । पूर्वमन्त्री एवं नेकपा (एमाले) नेता वसन्तकुमार नेम्वाङले पार्टीकाे चिन्ता विकास र समृद्धिका काम रोकिनुहुन्न भन्ने मात्रै रहेको बताउनुभएको छ ।
वर्तमान सरकारको गठनदेखि नै विकास निर्माणका कामले गति लिन नसक्दा आशंका बढेको नेम्वाङको भनाइ छ ।
पाँचथरको याङवरक गाउँपालिका-५ को वडा कार्यालय भवनको याङवरक-५ हिटिधारामा आयोजित कार्यक्रममा पूर्वमन्त्री नेम्वाङले एमालेको चिन्ता र चासो जनतालाई सुखसुविधा हुने र समृद्धिका काम नरोकिउन भन्ने मात्रै रहेको बताउनुभयो ।
‘जनताका सुख र समृद्धिका लागि सुरुवात भएका काम, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका कुरा, गाउँगाउँ पुगेको विद्युत, चार हजार पुगेको सामाजिक सुरक्षा भत्ता, ठूला विकासका पूर्वाधार पूरा होलान् कि नहोलान् भन्ने आशंका देखिएको छ,’ नेम्वाङले भन्नुभयो, ‘कथंकदाचित हामीले जनताका लागि गरेका विकासका योजना ओझेलमा त पदैनन् ? यो हो हाम्रो चिन्ताको विषय ।’
तर, जनताको विकास र समृद्धिका चाहनाअनुसार सुरुवात भएका कामको निरन्तरताका लागि एमालेले खवरदारी गरिरहने नेम्वाङले बताउनुभयो । ‘कालोपत्रे सुरुवात भएका सडकको काम नरोकियोस् । चार हजार पुगेको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुगोस् । गाउँ–गाउँमा टाँगिएका तारमा विद्युत जोडियोस्,’ नेम्वाङले भन्नुभयो, ‘समृद्धिको अभियानमा सुरुवात भएका काम अब रोकिनुहुन्न भन्ने मात्रै हाम्रो कुरा हो ।’ विकास र समृद्धिको अभियानमा सचेत भएर बस्न र आवश्यकताअनुसार खवरदारी गर्न उहाँले आमनागरिकलाई आह्वान गर्नुभयो ।
समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाबाट कुनै पनि सरकार अलग हुन नसक्ने बताउँदै पूर्वमन्त्री नेम्वाङले घरबारविहीनले घर पाउने, फुसको छानो हुनेले जस्तापाता पाउने, दलित, अपाङ्ग, अशक्त तथा जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वृद्धि हुँदै जाने कुरालाई रोक्ने र अवरुद्ध पार्ने कल्पनासमेत नगर्न चेतावनी दिनुभयो ।